Breaking News
नेकपा स्थायी समिति बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं, असार १६-
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको चौथो दिनको बैठक सुरु भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित भएका छन् ।
मंगलबार बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।
मंगलबार विहान साढे १० बजे प्रधानमन्त्री ओली राष्टपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
यसअघि शुक्रबारको बैठकमा उनी उपस्थित भएका थिएनन् भने शनिबारको बैठकमा पनि केहीबेर बसेर निस्किएका थिए। आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले धारणा राख्दैछन् ।
बुधबारदेखि सुरु भएको बैठक बिहीबार स्थगित गरेर शुक्रबार र शनिबार बसेको थियो ।
दुई दिन स्थगित गरेर बैठक फेरि आज बसेको हो ।
प्रधानमन्त्री ओलीले गत सोमबार जननेता मदन भण्डारी जयन्तीका अवसरमा आयोजित कार्यक्रममा आफुले भारतले मिचेको जमिन समेटेर नक्सा जारी गरेपछि भारतले आफुलाई हटाउन चलखेल गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । तर प्रम ओलीको उक्त अभिव्यक्तिलाई नेपालको राजनीतिज्ञ र कुटनीतिज्ञले आफ्नो असफलता ढाकछोप गर्न भारतलाई दोष दिएको भन्दै प्रमको उक्त अभिव्यक्तिको आलोचना हुँदै आएको छ । प्रधानमन्त्रीले भारतले भन्दैमा आफु नहट्नेसमेत बताएका थिए ।
स्थायी समितिको बैठकमा सरकार, पार्टी, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सीमा लगायत ७ बुँदे एजेण्डामा छलफल तय भएको छ। सीमाका विषयमा स्थायी समितिका सदस्यहरुले आफ्ना धारणा राखिसकेका छन् ।
आजको बैठकमा सोही विषयमा बोल्न बाँकी रहेका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, सचिवालयका सदस्य रामबहादुर थापा र ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेलले आफ्ना धारणा राख्ने बताइएको छ ।
























