चितवन विशेष
कसरा चेकपोष्टमा १० लाखमा आधुनिक शौचालय बन्ने

चितवन, असार १५-
चितवनको कसरा चेक पोष्टमा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ ।
भरतपुरमा रहेको चितवन ग्रिन लायन्स क्लबले माडी ठोरी सडकअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सार्वजनिक शौचालय निर्माण गर्न लागेको हो ।
करिब १० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको शौचालयको आज एक कार्यक्रम गरी शिलान्यास गरिएको छ । लायन्स क्लब इन्टरनेशन ३२५ बि टु का सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर रामप्रसाद भट्ट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती एवम् क्लबका संस्थापक अध्यक्ष भोजबहादुर खड्काले संयुक्तरुपमा शिलान्यास गरेका हुन् ।
तीन महिनामा सम्पन्न गरी राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिने कार्यक्रमका संयोजक सुमन कोइरालाले बताए । आधुनिक शौचालयमा छुट्टाछुट्टै तीन वटा कोठामा, अपाङ्गमैत्री एक वटा, महिलाहरुको लागि तीन वटा र पुरुषको लागि चार वटा युरिनल र एक वटा ट्वाइलेट रहने छ । राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र निर्माण गर्न लागिएको वातावरण मैत्री उक्त आधुनिक शौचालयको भित्ताहरुमा वन्यजन्तु संरक्षणसम्बन्धी सूचनाहरुका लागि सूचनापाटी समेत राखिने क्लबका अध्यक्ष किशोरचन्द्र सापकोटाले बताए ।

कार्यक्रममा प्रमुख संरक्षण अधिकृत रुपाखेतीले भरतपुर हुँदै माडी जाने र माडीबाट भरतपुर आउने यात्रुहरुलाई राष्ट्रिय निकुञ्ज कसरा पोष्टमा सवारी इन्ट्री गर्दा रोकिनु पर्ने परिस्थिति हुँदा उक्त ठाउँँमा शौचालयको अत्यन्त आवश्यक रहेको अवस्थामा क्लबले निर्माण गर्न लागेको आधुनिक शौचालयको महत्व विशेष रहने बताए ।
























