Breaking News
लकडाउनले चितवनमा साइकलको क्रेज बढ्यो (फोटो फिचरसहित)

चितवन, असार १५-
भरतपुर लंकुका ३६ वर्षीय व्यवसायी नविन खरेल हरेक दिन शहरमा साइकलमा नै हुइकिन्छन् । उनी चितवन साइकल राइडर्स क्लबका अध्यक्ष पनि हुन् । दिनमा ३० देखि ४० किलोमिटरसम्म साइकलमा यात्रा गर्ने उनी तीन प्रकारका साइकलमा यात्रा गर्छन् । कुनै बेला ढाँड दुख्य समस्याले आजित भएका उनले अहिले नियमितको साइकल यात्रापछि समस्याबाट मुक्ति पाएका छन् । साइकलमा नै उनी सौराहादेखि रामनगर, ठिमुरासम्म पुग्ने गर्छन् । उनी त एक प्रतिनिधि पात्र मात्र हुन् लकडाउनको समयमा चितवनको सडकमा उनी जस्ता धेरै साइकल यात्रीहरु थपिएका छन् ।
लकडाउनमा सडकमा सामाजिक दूरी कायम राख्दै हिड्नु पर्ने भएकोले पनि साइकलमा क्रेज बढेको साइकल यात्रीहरु बताउँछन् । विगत दुई वर्षदेखि हरेक दिन २० किलोमिटर निरन्तर साइकल चलाउँदै आएका जनककुमार ढकाल भन्छन्, ‘ लकडाउनको समयमा बाटोमा भीडभाड हुँदा पनि घण्टी बजाउँदै हिड्न पाइने भएकोले साइकल कोरोना संक्रमणमा निकै उपयोगी साधन बनेको छ ।’ आफ्नै तरिकाले कसैलाई नछोइ हिड्न पाइने भएकोले साइकल निकै सुरक्षित भएको उनले नारायणी अनलाइनलाई बताए । साइकल यात्री ढकालले भने, ‘स्वास्थ्यको दृष्टिकोणले साइकल निकै उपयोगी साधन हो । मोटोपनाको सजिलै नियन्त्रण गर्न सकिन्छ ।’

लकडाउनमा घरमा थन्किएर बसेका साइकलहरु पनि मानिसले निकाल्न थालेको साइकल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष धर्म सापकोटाले बताए । काम गर्ने मानिसहरु नभएर आफ्नो डीआर साइकल पसलले प्रभावकारी सेवा दिन नसके पनि लकडाउनमा साइकलको व्यापार कम नभएको उनले बताए । उनले भने, ‘ लकडाउनमा सबैमा साइकलको क्रेज छ । सडक खुला भएकोले अहिले साइकल चलाउन सजिलो भए पनि शहरमा साइकल चढ्ने वातावरण भने बन्न आवश्यक छ । साइकल शिक्षाको पनि जरुरी रहेको र सबैलाई साइकल चढ्न अभिप्रेरित गर्नुपर्छ ।’
पहिले फाट्टफुट्ट मात्रामा साइकल यात्रीहरु सडकमा देखिए पनि अहिले बिहानीपख १५ बढी साइकल यात्रीहरुको समूह आफूसँगै साइकल यात्रमा भेटिने गरेको खरेलले बताए । बाटोमा गाडीको प्रदूषण, होहल्ला कम भएर वातावरण स्वच्छ हुँदै गएकोले पनि साइकल चढ्ने उपयुक्त समय लकडाउन बनेको उनको विचार थियो । फूर्सदिलो समय भएकोले पनि अहिले शारीरिक अभ्यासको लागि साइकल चढ्नेहरु बढ्दै गएको व्यवसायीहरु बताउँछन् । नारायणगढमा सामान्य ७\८ हजारदेखि लाखौंसम्मका साइकल उपलब्ध हुँदै आएको व्यवसायीहरु बताउँछन् । वातावरण प्रदूषण कम गर्दै मानिसलाई स्वस्थ र स्फूर्त बनाउन पनि साइकल यात्रालाई प्रोत्साहन गर्न आवश्यक रहेको चितवन साइकल राइडर्स क्लबको भनाइ छ ।

पछिल्लो समय चितवनमा बढ्दो मुटुरोग, मधुमेह लगायत कम गर्न पनि साइकल र पैदलयात्रा महत्वपूर्ण हुन्छ । नेडरल्यान्डमा गरिएको एक अध्ययनअनुसार ३० मिनेट साइकल चलाउँदा मुटुरोग, मधुमेह, क्यान्सरको सम्भावना ६०\७० प्रतिशत कम भएको पाइएको छ। विकसित देशहरूले साइकल प्रवद्र्धनमा जोड दिनुको एउटा कारण यो पनि हो । कोरोना महामारीले चितवनका सडकमा साइकल लेन विस्तारको आवश्यकता झनै बढाएको साइकल यात्रीहरु बताउँछन् । कोरोना महामारी र लकडाउनले संसारभरि साइकलको महत्व बढाएको विभिन्न समाचार माध्यमहरुले जनाएका छन् ।




(फोटो : नविन खरेल र जनककुमार ढकाल )
























