Breaking News
प्रदेश सरकारले चितवनका किसानलाई दियो दूधमा चार करोड बढी अनुदान

चितवन, असार १४
वागमती प्रदेशमा चितवनसहित ९ जिल्लाका एक हजार ७०० किसानले करिब आठ करोड लिटर दूध उत्पादन गरेर आठ करोड अनुदान पाएका छन् ।
अनुदान लिनेमा सबैभन्दा बढी चितवनका ९४ दुग्ध उत्पादक सहकारीले ४ करोड ४५ लाख ६९ हजार २७४ लिएका छन् । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले यस वर्षदेखि दूधमा किसानलाई दिने अनुदानको रकम बढाएको बताए । उनले भने, ‘उत्पादनमा आधारित अनुदान रकमलाई प्राथमिकतामा राखेका छौं । काम गर्ने किसानलाई प्रदेश सरकारले सहयोग गर्छ ।’
प्रतिलिटर दूध उत्पादन गरेबापत वागमती सरकारको एक रुपैयाँ अनुदान दिने कार्यक्रमबाट प्रदेशभरका नौ जिल्लाका १९८ सहकारीका एक हजार ७०० ३१ दूध उत्पादक किसानले चालु आर्थिक वर्षमा करिब आठ करोड अनुदान पाएका छन् । आर्थिक वर्ष २०७६\०७७ को लागि दूध उत्पादनमा आधारित अनुदानको लागि १२ करोड विनियोजन गरिएकोमा सो बराबरको अनुदान भुक्तानी गरिएको हो ।
प्रदेशअन्र्तत पर्ने १३ जिल्लामध्ये ९ जिल्लामा रहेका ती सहकारीले सात करोड ८३ लाख १८ हजार ४२२ लिटर दूध उत्पादन गरेर चालु आर्थिक वर्षमा प्रतिलिटर एक रुपैयाँ अनुदान वापत सात करोड ८३ लाख १८ हजार ४२२ भुक्तानी गरिएको वागमती प्रदेश पशुपंक्षी तथा मत्य विकास निर्देशनालय हेटौंडाका पशु विकास अधिकृत नवराज दाहालले जानकारी दिए ।
बागमती प्रदेश दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०७५ को दफा १५ मा प्रतिलिटर दूध उत्पादन गरेवापत किसानलाई प्रोत्साहनस्वरुप एक रुपैयाँ अनुदान उपलब्ध गराइने व्यवस्था गरेको छ ।
अनुदान लिनेमा सबैभन्दा बढी चितवनका ९४ दुग्ध उत्पादक सहकारी छन् भने सबैभन्दा कम रामेछापको एउटा सहकारीले एक लाख १५ हजार ६०५ रुपैयाँ अनुदान लिएको निर्देशनालयका अधिकृत दाहालले जानकारी दिए । ललितपुरको २४ सहकारीले ७३ लाख एकहजार ९९०, सिन्धुलीको एउटा सहकारीले एकलाख ४३ हजार ४३८, सिन्धुपाल्चोकको चार सहकारीले ९ लाख ६२ हजार ४२, मकवानपुरको ३९ सहकारीले एककरोड २८ लाख ६७ हजार ८६५, नुवाकोटको एक सहकारीले दुईलाख २६ हजार ५४३, धादिङको दुई सहकारीले चार लाख ६४ हजार ३६६ र काभ्रेपलाञ्चोक ३२ सहकारीले एककरोड १६ लाख ६७ हजार २९९ रुपैयाँ भुक्तानी लगेको अधिकृत दाहालले बताए ।
प्रतिलिटर दूधको एक रुपैयाँ अनुदान पाउँदा किसानको अवस्थामा खासै परिवर्तन नआउने भए पनि अनुदान दिन सुरु गरिनु किसानका लागि उत्साह दिने काम भएको उनले बताए । दूध उत्पादनमा आधारित अनुदान वितरण कार्यविधि २०७५ को दफा १८ को (क) र (ख) अनुसार वार्षिक कम्तिमा २०० दिनसम्म दैनिक ३०० लिटरका दरले दूध संकलन तथा उत्पादन गरेका सहकारीहरु अनुदानको पाउनको लागि योग्य हुने मापदण्डमा उल्लेख छ । सहकारीले प्राप्त गरेको कूल अनुदान सम्वन्धित कृषकलाई नै उत्पादनको आधारमा भुक्तानी दिनु पर्ने कार्यविधि छ ।
दोलखा, रसुवा, भक्तपुर र काठमाडौंका किसानहरुको भने मापदण्ड नपुगेका कारण दूध उत्पादनको कुनै पनि अनुदान नपाएको निर्देशनालयले जनाएको छ । दोलखाका दुईवटा सहकारीले आवेदन दिएको भए पनि दैनिक ३ सय लिटर दूध उत्पादनको मापदण्ड नपुगेको कारण अनुदान नपाएको अधिकृत दाहालले जानकारी दिए ।आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि सो अनुदान रकमलाई दोब्बर बनाएर प्रतिलिटर दूधको २ रुपैयाँ अनुदान दिन १६ करोड बजेट विनियोजन गरिएको छ ।
























