चितवन विशेष
गौरीगञ्जमा नेपाली कांग्रेसको शोक सभा

चितवन, असार १४-
तत्कालिन माओवादीको आक्रमणबाट गम्भीर घाइते भई गोरखाबाट विस्थापित भएका शिक्षक नेता यदुप्रसाद अधिकारीको नवौं दिनको पूण्य तिथिमा आज उनको निवास गौरीगञ्जमा शोक सभा गरिएको छ ।
नेपाली कांग्रेस वडा नम्बर ८ को नगर समितिले शोकसभाको आयोजना गरेको हो । सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो आस्थाबाट कत्ति पनि बिचलित नभई पार्टी संगठनमा कटिबद्ध भएर लागेका निष्ठावान शिक्षक नेताको देहवसानले कांग्रेस पार्टीमा अपूरणीय क्षति पुगेको बताए । उनले परिवारजनलाई भने, ‘उनको निधन हुँदै गर्दा तपार्इँहरुको साथमा सिंगो पार्टी छ । एक्लो महसुस नगर्नुहोला ।’ तीन साताअघि उनलाई भेट्न निवास पुगेका सभापति श्रेष्ठलाई गोरखाको पार्टीको क्रियाशील सदस्यता चितवन सारिदिन उनले अनुरोध गरेको स्मरण गर्दै श्रेष्ठले यो इच्छा पूरा गर्न नसकेको भन्दै दुःख प्रकट गरे ।’
सभामा नेपाली कांग्रेस चितवनका पूर्वसभापति एवम् संविधानसभाका सदस्य रामकृष्ण घिमिरेले शिक्षा क्षेत्रमा अधिकारीले पु¥याएको योगदान महत्वपूर्ण भएको भन्दै पार्टीप्रति उनको त्याग अविस्मरणीय रहेको बताए । नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकरप्रसाद कँडेलले अधिकारीको सिंगो गरिवार प्रजातन्त्र प्राप्तिका लागि लडेको परिवार भएको भन्दै उनको योगदानको चर्चा गरेका थिए । कार्यक्रमका सभापति जगन्नाथ कँडेलले एक जना निष्ठावान व्यक्ति गुमाउनु पर्दा सिंगो कांग्रेस दुखित भएको बताए ।
परिवारका तर्फबाट ज्वाई रामु दवाडीले पार्टीमा उनले पु¥याएको योगदानको बारेमा जानकारी गराएका थिए । विसं २०१० साल फागुन १५ गते हालको अजिरकोट गाउँपालिका वडा नम्बर ३ लप्सिबोट गोरखामा उनको जन्म भएको थियो । विसं. २०५४ सालमा तत्कालिन माओवादीले संघातिक आक्रमण गरेपछि गम्भीर घाइते भएको उनी त्यहाँबाट विस्थापित भई काठमाडौं बसेका थिए । विसं. २०७५ साल मंसिरबाट यहाँ बस्न थालेका अधिकारी गत सात महिना अघिबाट क्यान्सर रोगबाट पीडित थिए । उपचारका क्रममा उनको यही असार ६ गते निधन भएको हो । उनको निधनमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरी दुःख प्रकट गरेको थियो ।
उनका एक श्रीमती र तीन छोरा रहेका छन् ।























