चितवन विशेष

मदन भण्डारीको शव भेट्टाउने गाँजीपुरका गुरुङलाई सहयोग

Banner

चितवन, असार १४-

जननेता मदनकुमार भण्डारीको शव प्राप्त गर्ने र नदीबाट बाहिर ल्याउन सहयोग गर्ने मध्येका एक टोकमान गुरुङलाई खाद्यान्न सहयोग गरिएको छ । मदन भण्डारी फाउण्डेसन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले व्यक्तगत रुपमा शनिबार सहयोग उपलब्ध गराएका हुन् ।

गाजीपुरस्थित गुरुङको घरमा नै पुगेर अध्यक्ष भट्टराईसहित फाउण्डेसन चितवनका पदाधिकारीले राहत हस्तान्तरण गरे । गुरुङलाई तत्काल राहतका लागि एक बोरा चामल, दुई किलो दाल, दुई लिटर खाने तेल, नुन लगायतका दैनिक उपभोग्य वस्तु हस्तान्तरण गरिएको छ । लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भएपछि गुरुङलाई सहयोग हस्तान्तरण गरिएको हो ।

विसं २०५० सालमा चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परेका तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको शव जिल्लाको गाँजीपुरस्थित नारायणी नदीमा फेला परेको थियो । सो समयमा गुरुङलगायतका ६ जनाले शव प्राप्त गर्नुका साथै नदीबाट शव बाहिर ल्याउने काम गरेका थिए । अन्यको आर्थिक स्थिति सन्तोषजनक भए पनि गुरुङलाई अप्ठ्यारो भएपछि सहयोग उपलब्ध गराइएको फाउण्डेसन चितवनका उपाध्यक्ष शम्भु सुवेदीले जानकारी दिए ।

यसैबीच मदन भण्डारी फाउण्डेसन चितवनले आइतबार (असार १४ गते) मदन जयन्तीको अवसरमा गाँजीपुरमा नै कार्यक्रमको आयोजना गर्दैछ । मदन स्मृति पार्कमा निर्मित भण्डारीको अर्धकद्को शालिक अनावरण गर्ने कार्यक्रम रहेको फाउण्डेसन चितवनका सचिव श्याम विष्टले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>