Breaking News
स्थायी समितिमा परराष्ट्रमन्त्रीले भने : भारतले सीमा विवादबारे चासो दिएन

काठमाडौँ, असार १२-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक यतिबेला बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टी स्थायी समितिको बैठकमा अनुपस्थित भएका छन् ।
बैठक अहिले भारतसँगको सीमा विवादमा केन्द्रीत भएको बैठकमा सहभागी एक स्थायी समिति सदस्यले जानकारी दिए ।
धारणा राख्ने अधिकांश सदस्यहरुले अतिक्रमित नेपाली भूभाग समेटिएको नेपालको नक्सा सार्वजनिक गरेकोमा नेपाल सरकारलाई बधाइ दिएका थिए । साथै, सीमा समाधान गर्न अझ बढी प्रभावकारी कदम चल्न सुझाव पनि दिएका थिए ।
बैठकमा धारणा राख्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले भारतलाई पटक–पटक सीमा समस्या समाधान गर्नका छलफलका लागि ताकेता गरे पनि भारतले बेवास्ता गर्दै आएको जानकारी दिएका थिए । ज्ञवालीका अनुसार नेपालले सेप्टेम्बर, अक्टोबर र डिसेम्बर महिनामा लगातार सीमा विवाद समाधानका लागि वार्ता गर्न प्रस्ताव गरे पनि भारतको तर्फबाट कुनै प्रतिक्रिया नआएको हो ।
स्थायी समिति बैठक बुधबारबाट सुरु भएको हो। बुधबारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले आफ्नो धारणा राखेका थिए ।
बैठकमा ११ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेको नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए।
अहिलेसम्म अमृतकुमार बोहोरा, पम्फा भुसाल, घनश्याम भुसाल, बेदुराम भुसाल, रघुबीर महासेठ, लिलामणि पोखरेल लगायतका नेताहरुले स्थायी कमिटी बैठकमा धारणा राखेको मन्त्री भट्टराईले बताए।
आज धारणा राख्ने सदस्यहरुलाई १०–१० मिनेट समय दिइएको थियो ।
























