Breaking News
नेकपाको स्थायी कमिटि बैठक : एमसीसी लगायतका विषयमा छलफल हुने

काठमाडौँ, असार १२–
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने छ ।
बुधबार सुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक आज (शुक्रबार) पनि बस्दै छ ।
बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि शुक्रबारसम्मका लागि बैठक स्थगित भएको थियो । बुधबार दुई अध्यक्षले मात्र सम्बोधन गरेको बैठकमा आजदेखि सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने छन् ।
बैठक अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा केन्द्रित हुने जनाइएको छ ।
बुधबारको बैठकले सातवटा एजेण्डा तय गरेको थियो । जसमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्ध सरकारले गरेका काम कारबाही, नेपालको सीमा समस्या र समाधानका लागि भएको प्रयास, सरकारको कामको समग्र समीक्षा, पार्टी एकताको बाँकी, एमसिसी, रूकुम घटना, नागरिकता विधेयक र सांसदको बैठक भत्ताबारे छलफल हुनेछ ।
नेताहरुका अनुसार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरुले सरकारको काम कारबाही र ओलीको पार्टी सञ्चालनबारे चर्को आलोचना गर्ने रणनीति तय गरेका छन् ।
दाहाल र नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न दबाब दिने स्रोतले बताएको छ । बुधबारको बैठकमा अध्यक्षद्वय ओली र दाहालले एक अर्काप्रति अविश्वास र असन्तुष्टि व्यक्त गरेका थिए ।
दुवैले अध्यक्षले पार्टी व्यवस्थित हुन नसकेको स्वीकार गर्दै एकले अर्कालाई असहयोग गरेको आरोप लगाएका थिए ।
ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टी भित्रैबाट असहयोग र आलोचना भएको बताएका थिए भने दाहालले सहमतिका साथ पार्टी र सरकार सञ्चालन गर्ने सहमति तोडिएको बताएका थिए ।
एमसीसीका परियोजना पारित गरिसक्नु पर्ने अन्तिम समय असार १६ रहेको भएपनि अझैसम्म नेकपाभित्रको विवाद सुल्झिन सकेको छैन ।
नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।
























