चितवन विशेष
भरतपुरको सिजी ल्यान्डमार्कका पसल संचालन हुन थाले, मलमा उच्च सावधानी

चितवन,असार १२-
चितवनको भरपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्कका व्यवसायीले उच्च सावधानीका साथ व्यवसाय संचालन गर्न थालेका छन् । जिल्लामा ब्रान्डेड सामानहरु अन्यत्र नपाइने हुँदा ब्रान्ड लोयल उपभोक्ताका लागि पर्याप्त सुरक्षा सावधानी अपनाएर सामान उपलब्ध गराउन थालेको मलमा पसल सञ्चालन गरिरहेका व्यवसायी विदुर पौडेलले जानकारी दिए ।
सरकारले अन्यत्र व्यवसाय गर्न अनुमति दिए पनि सपिङ मल खोल्न अनुमति दिएको छैन । यस्तो अवस्थामा ब्रान्ड लोयल ग्राहकका लागि विशेष व्यवस्था गरिएको उनले बताए । पर्याप्त सावधानीका साथ दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सामान लिन सक्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।
मल म्यानेजर उज्ज्वल केसी मलका व्यवसायीले सीमित समय पसल खोलेर ग्राहकलाई आवश्यक सामान उपलब्ध गराउन चाहेपछि आफूहरुले सहजीकरण गरेको बताउँछन् । सामाजिक दुरी, मास्क, स्यानिटाइजर जस्ता सुरक्षा सामग्रीको लगायत स्वास्थ्य सुरक्षासम्बन्धी अन्य मापदण्ड पूरा गरे÷नगरेको विषयलाई मल व्यवस्थापनले सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत सूक्ष्म रुपमा निगरानी गरिरहेको म्यानेजर केसीले जानकारी दिए । ‘यो अफ्ठयारो अवस्थामा ग्राहकको आवश्यकता पनि परिपूर्ति गर्नुपरेको छ, संक्रमणबाट पनि बच्नु÷बचाउनु छ,’ केसी भन्छन्, ‘त्यसकारण हामीले मलमा व्यवस्था गरिएको संयन्त्रमार्फत सूक्ष्म रुपमा निगरानी गरिहेका छौं । डब्लुएचओ र सरकारका सक्षम निकायले तोकेको प्रोटोकलविपरीतको काम कुनै हालतमा हुन दिँदैनौं,उनले भने ।’
मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको उनको भनाइ छ ।
अर्का व्यवसायी रोशन तिवारी मल व्यवस्थापनले स्यानिटाइजर, साबुनपानीको व्यवस्था, तोकिएको सामाजिक दुरी कायम गर्न आवश्यक प्रबन्ध मिलाएर सहयोग गरेको बताउँछन् । ‘मलमा आउने जोसुकै पनि डराउन नपर्ने गरी व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘डर र जोखिम हामीलाई पनि छ । यी सबै पक्षलाई मनन गरेर पर्याप्त सावधानी अपनाएका छौं ।’ पुलचोकका सञ्जय खड्का ब्रान्डेड सामानका पसल खुलेपछि केही राहत मिलेको बताउँछन् ।
























