Breaking News
भरतपुर विमानस्थलमा बुद्ध एयरले यसरी गर्दैछ उडानको तयारी

चितवन, असार ११–
भरतपुर विमानस्थलमा कोरोराना महामारीकाबीच उडानको तयारी सुरु गरिएको छ । बुद्ध एयरले कसरी सुरक्षित भएर उडान गर्ने भनेर कर्मचारीहरुलाई नै यात्रु बनाएर आज (बिहीबार) डेमो गरेको छ ।
यात्रुहरु विमानस्थल प्रवेश गरेदेखि अपनाउनु पर्ने सावधानी र विमान कम्पनीले अपनाउने सुरक्षा सावधानीको डेमो गरिएको बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले जानकारी दिए । महामारीका बेला उडान भर्दा अपनाउने सबै प्रक्रिया डेमोमा गरिएको उनले बताए । कर्मचारीहरुले जसरी आज ड्युटी गरे त्यसरी नै आन्तरिक उडान प्रारम्भ भएपछि यात्रुका लागि गर्नुपर्ने हुन्छ ।

यात्रुहरुले विमानस्थल प्रवेश गर्दा देखि नै पूर्ण रुपमा सावधानी अपनाउनुपर्ने हुन्छ । विमानस्थलमा निश्चित दुरी कायम गरी यात्रुहरु लाइनमा उभिनु पर्ने हुन्छ । प्रस्थान कक्षमा नै यात्रुहरुको ज्वरो नाप हुनेछ। त्यही नै स्यानिटाइजरले हात समेत धुनुपर्नेछ । चेक–इन गर्ने स्थानमा नै कर्मचारीले यात्रुको यात्रा विवरण खुल्ने फारम भर्नुपर्छ । त्यसपछि मात्रै निश्चित दुरी अपनाएर बोर्डिङ पास प्राप्त हुनेछ । सबै यात्रुले मास्क अनिवार्य लगाउनपर्छ ।
विमान चढ्ने बेलामा पुनः यात्रुहरुको ज्वरो जाँच गर्ने र स्यानिटाइ गरिने बुद्ध एयरका भरतपुर प्रमुख बस्नेतले बताए । उनले आन्तरिक उडान खुलेपछि यसरी नै बुद्ध एयरले उडान भर्ने बताए । उनले यात्रुहरुलाई विमान कम्पनीले नै फेस सिल्ड उपलब्ध गराउने बस्नेतले बताए । आन्तरिक उडानमा सबै भन्दा धेरै यात्रु बुद्ध एयरले बोक्ने गरेको छ ।
सरकारले पछिल्लो समय असार २१ गतेसम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएको छ । प्रतिवन्धको समय सकिनै लाग्दा बुद्ध एयरले आफ्नो तयारी सुरु गरेको हो ।
























