समाचार
स्थायी समितिमा ओलीको गुनासो : मेरा विपक्षी सबैतिर भए

काठमाडौं, असार १०-
सत्तारुढ नेकपाको स्थायी समिति बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टी प्रतिपक्षजस्तो हुँदा काम गर्न नसकिएको र राम्रो कामको पनि खराब प्रचार भएको गुनासो गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने सरकारको कडा आलोचना गरेका थिए ।
ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने ‘यत्रो कोभिड १९ संकटका बेलामा सरकारले गरेका काम पार्टीले बुझ्न सकेन ‘पार्टी प्रतिपक्ष जस्तो भयो, राम्रो काम प्रचार भएन, पार्टीभित्रैबाट सरकार विरोधी धारणा आए, साथीहरु नै सरकारको विरोधमा निस्कने प्रवृत्ति देखियो।’
‘सरकारले राम्रो काम गरेको छ। भ्रष्टाचार भए सरकारले काबाही गर्छ। हल्लाको पछि नलागौं। सरकारलाई सबै तिरबाट असफल बनाउने प्रयास भइरहेको छ। आफ्नै पार्टीभित्रबाट पनि असहयोग भइरहेको छ।’
पछिल्ला दिन औषधि खरिद लगायतका विषयमा व्यापक अनियमितता भएको चर्चा चलिरहेका बेला सरकारले कुनै बदनाम हुने काम नगरेको उनले दाबी गरे।
‘सरकार बदनाम भएको छैन, गराइएको हो,’ ओलीले भने, ‘कोरोनाको संकट, सीमा समस्याका विषयमा जुधिरहेको सरकार कसरी बदनाम हुन्छ?’
झण्डै पौने घण्टा बोलेका ओलीले सरकारको कामको बचाउ गरेपनि पार्टी सञ्चालनमा केही समस्या देखिएको भए सच्याएर अघि बढ्न तयार रहेको बताएका थिए । उनले पार्टी एकताबाट पछाडि फर्कने अवस्था नभएको बताए।
‘पार्टी एकता धेरै सोचविचार गरेर गरिएको छ, यसबाट पछाडि फर्किने स्थिति छैन, बरु कमजोरी भएका छन् भने सच्याएर अघि बढ्न तयार छु,’ ओलीले स्थायी समितिका नेताहरुसँग भने।
त्यसपछि बोलेका अध्यक्ष प्रचण्डले पार्टीभित्र व्यक्तिवादी सोच हावी भएको बताए । उनले गत चुनावमा व्यक्तिलाई हेरेर जनताले मत नदिएको बताए ।
‘पार्टी एकता ठूलो चुनौती मोलेर गरिएको हो, जनताले मत व्यक्ति हेरेर दिएका होइनन्’, प्रचण्डको भनाइ थियो, ‘पार्टीलाई आएको मत व्यक्तिले प्राप्त गरेको जसरी व्यवहार हुनु भएन।’
अध्यक्ष प्रचण्डले पार्टी र सरकारको कामबाट जनतामा निराशा छाएको, कम्युनिस्ट सरकारको व्यवहार जनउत्तरदायी नभएकोले आत्मसमीक्षा गर्नुपर्ने धारणा राखेका थिए।
४० मिनेट जति बोलेका प्रचण्डले सरकारले कार्यशैली नसुधारे पार्टी समाप्त हुने बताए।
प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिबाट पछि हट्ने आफ्नो निर्णय गलत भएको समेत बताए।
‘उहाँले सीधै त होइन तर, सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमतिबाट पछि नहटेको भए अहिलेको अवस्था आउँदैनथ्यो कि भन्ने लाग्न थालेको छ भन्नुभयो,’ एक स्थायी समिति सदस्यले भने।
‘एकतापछि झन्डै दुईतिहाइ बहुमतसहित सरकार बनायौँ, तर अब यो एकतालाई जोगाउन सकिएन भने जनताको जनवाद, समाजवाद सबै सकिन्छ। अझै अढाई वर्ष बाँकी छ। सरकारलाई जिम्मेवारको कामलाई प्रभावकारी बनायौँ भने अर्को चुनावमा पनि बहुमत ल्याउन सकिन्छ। नत्र जनताले विकल्प खोज्छन्,’ दाहालले भने।
सरकार बदनाम भएको होइन भन्ने प्रधानमन्त्री ओलीको भनाइतिर संकेत गर्दै प्रचण्डले सरकारप्रति जनताले प्रश्न उठाएकाले यसको जवाफ दिनुपर्ने बताए।
उनले भने, ‘सरकारप्रति प्रश्न उठिसकेको छ, अर्काे चुनावमा जाँदा पनि यिनै जनताको साथ चाहिन्छ, जनअपेक्षा भड्काउने काम गर्नुहुँदैन।’
असार १२ गते बस्ने स्थायी समितिको बैठकमा भने एजेन्डागत रुपमा छलफल हुने नेताहरुले बताएका छन्।



























