Breaking News

रत्ननगरको बजेट १ अर्ब १४ करोड, कृषि र स्वास्थ्यलाई प्राथमिकता

Banner

चितवन, असार १०–

रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि एक अर्ब साढे १४ करोड बराबरको बजेट सार्वजनिक गरेको छ ।

कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएर सो नगरपालिकाले सो आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ६१ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको हो । कोरोना भाइरसले मुलुकका प्रभाव पारिरहेका बेला सो नगरपालिकाले कोरोना नियन्त्रण र विदेशबाट फर्केर आउने युवाहलाई कृषिमा रोजगारी प्रदान गर्ने गरी बजेट ल्याएको हो ।

कुल बजेट मध्ये सो नगरपालिकाले आन्तरिक आम्दानीबाट १० करोड,राजश्व बाँडफाडबाट १३ करोड ७९ लाख ५५ हजार, अन्य आय २ करोड ६० लाख, वित्तीय हस्तान्तरण तर्फ केन्द्र सरकारबाट प्राप्त ७४ करोड ९ लाख २० हजार, प्रदेश सरकारबाट ११ करोड ६२ हजार, अन्तर स्थानीय तहबाट १ करोड ५० लाख र जनसहभागिताबाट १ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको छ ।

सो नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा चालु खर्च तर्फ ६६ करोड ८८ लाख, ६५ हजार र पुँजीगत खर्चतर्फ ४७ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ । सातौँ नगर सभामा नगर प्रमुख नारायण वनले नीति तथा कार्यक्रम र उपप्रमुख विमला दुवाडीले बजेट प्रस्तुत गरेकी थिइन् । पूर्वाधार विकासमा ३ करोड २४ लाख ५० हजार, कृषि क्षेत्रमा ७८ लाख ८१ हजार, पशुपंछी विकासमा ७८ लाख १३ हजार, सहकारी, उद्योग, वाणिज्य, पर्यटन १ करोड ५८ लाख, शिक्षामा ८४ लाख ५८ हजार, स्वास्थ्यमा ८५ लाख, प्रशासनिक खर्चमा १९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य क्षेत्रमा कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएको छ । कोरोना नियन्त्रणको लागि अस्पतालमा आइसोलेशन वेड,व्यवस्थित क्वारेन्टाइन निर्माण, स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री सहित प्रोत्सहान भत्ता लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ । स्वास्थ्यतर्फ नै सुत्केरी आमा र शिशुको सुरक्षाका लागि उपप्रमुखसंग महिला स्वास्थ्य कार्यक्रम ल्याइएको छ भने बृद्धबृद्धालाई घरघरमै उपचार कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

कृषितर्फ सो नगरपालिकाले नगर क्षेत्रमा रहेको बाँझो जमिनमा सामूहिक खेती गर्न अनुदान दिने, बधशालादेखि भन्सासम्म स्वच्छ मासु अभियान अन्तर्गत सुविधा सम्पन्न बधशाला सञ्चालन गर्ने, कृषि उत्पादनलाई संरक्षण गर्न नेपालमै पहिलो कृषि अस्पताल सञ्चालन गर्ने नीति तथा कार्यक्रममा जनाइएको छ । सामूहिक तथा सहकारी चक्लाबन्दी खेतीलाई विशेष प्राथमिकता दिइने नगर प्रमुख वनले बताए ।

शिक्षातर्फ सो नगरपालिकाले कोरोना भाइरसको महामारीले प्रभावित शिक्षालाई माथी उकास्ने गरी शिक्षण शिकाईलाई प्रभावकारी बनाउन लगानी गर्ने, शिक्षालाई जीवन उपयोगी बनाउन सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनलाई निरन्तता दिने, विद्यालयमा विद्यार्थी टिकाउन दिवा खाजा सञ्चालन गर्ने योजना बनाएको छ । बालबालिकालाई विद्यालयमा ल्याऔं, टिकाउ र सिकाउ अभियान सञ्चालन गर्ने र अभियान अन्तर्गत असहाय तथा टुहुरा बालबालिकालाई नगरपालिकाले अभिभावकत्व प्रदान गरेर शिक्षा प्रदान गरिने नगर प्रमुख वनले बताए ।

पर्यटन विकासतर्फ सो नगरपालिकाले नगर क्षेत्रमा आधुनिक पर्यटन बसपार्क, सूचना केन्द्र निर्माण गरिने छ । पर्यटन विकासकै लागि रत्ननगर–५ झुवानीमा नेपाल सरकारको सहयोगमा निर्माणाधिन बहुसांस्कृतिक पार्क निर्माण सम्पन्न गर्ने, सौराहामा पूर्वीचितवनस्तरको सौराहा इकोपार्क तथा बहुसांस्कृतिक ग्राम, मनीखोला पार्क निर्माण गरिने छ । ग्रामीण पर्यटनको रुपमा चिनिदै आएको होम स्टेलाई नमुनाको रुपमा सञ्चालन गर्ने लक्ष्य रहेको छ । नेपाल सरकारको लगानीमा सौराहामा निर्माणाधिन सिटीहल र टाँडी चोकमा निर्माणाधिन आकासेपुलको निर्माणकार्य यसै वर्ष सम्पन्न गरिने नगर प्रमुख वनले बताए ।

नगर सभामा राजश्व परामर्श समितिका संयोजक तिलकराज शर्मा, विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहाल,आर्थिक विकास समितिका संयोजक गोविन्द भट्टराई, वडाध्यक्ष राजन भट्टले कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेको नगर प्रवक्ता राजेन्द्र हमालले जानकारी दिए । नगर प्रमुख वनको अध्यक्षतामा भएको नगर सभामा प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले सहजीकरण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>