चितवन विशेष
घरभाडा छुट नदिए कानुनी उपचार खोज्ने घरबहाल मञ्चको चेतावनी

चितवन, असार ८–
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले घरधनीलाई घरभाडा नलिन अनुरोध गरेको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै केही घरधनीले तत्काल घरभाडा मागेकोमा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष हरिशर्मा पौडेलले लकडाउन अवधिभरको घरभाडा नलिन आग्रह गरेका छन् । कोरोना भाइरसको महामारिका कारण व्यापार, व्यवसाय, उद्योग, कलकारखाना बन्द हुन पुगेकाले सहुलियतको माग गरिएको उनले बताए । “कर्मचारी तलब, बैंक तथा वित्तिय संस्थाको व्याज तथा साँवा भुक्तानी गर्नुपर्ने समस्यामा पनि छौँ”, उनले भने, “यो बेला घरभाडा तिर्न सकिने अवस्था छैन, पूर्ण छुट दिएर सहयोग गरौँ ।”
चैत ११ देखिको घरभाडामा पूर्ण छुट गराउन स्थानीय सरकारको समेत ध्यानाकर्षण गराइएको बताए । मञ्चका पूर्वअध्यक्ष प्रभात ढुंगानाले घरभाडा छुट नदिए कानुनी सहायताको खोजी गरिने बताए । “यो बेला व्यापार, व्यवसाय निकै संकटग्रस्त अवस्थामा छन्”, उनले भने, “सबै घरधनीले पूर्ण छुट दिनुहुने अपेक्षा गरेका छौँ, अहिले भाडा नदिन व्यवसायीलाई भनेका छौँ ।”
उनले नीजि क्षेत्रका अन्य संघसंस्थासँग समन्व्य गरेर सबै व्यवसायीलाई घरभाडा छुट दिलाउन पहल भैरहेको बताए । उनका अनुसार उवासंघका वस्तुगत संघहरुबीच यही १० गते छलफल हुँदैछ । मञ्चले लकडाउन खुले पनि पूर्ववत अवस्थामा नआउँदासम्म ५० प्रतिशत घरभाडा छुटको माग गर्दै आएको छ ।
























