चितवन विशेष
शुल्क मिनाहाको माग गर्दै अनेरास्ववियू चितवनले बुझायो ज्ञापन पत्र

कारी महतो,
चितवन, असार ८–
सबै सरकारी कर्मचारीका छोराछोरीहरुलाई सरकारी स्कुलमै पढाउनुपर्ने, लकडाउन अवधिको शुल्क मिनाहा हुनुपर्नेलगायत ९ बुँदे मागसहित आज (सोमबार) अनेरास्ववियू चितवनले जिल्लाका विभिन्न स्थानीय तहहरुलाई ज्ञापन पत्र बुझाएको छ।
आइतबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई र आज (सोमबार) राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, खैरहनी नगरपालिकका प्रमुख लालमणि चौधरी र रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई अनेरास्ववियूले ध्यानाकर्षण पत्र बुझाएको हो ।
भोलि (मंगलबार) कालिका नगरपालिकामा, बुधबार माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको अनेरास्ववियूका केन्द्रीय सदस्य स्वरुप सुयालले बताए । अनेरास्ववियू चितवनका जिल्ला संयोजक प्रकाश आचार्य एवम् सहसंयोजक वसन्त आचार्यले हस्ताक्षर गरेका ध्यानाकर्षण पत्र स्थानीय तहका प्रमुखहरुलाई बुझाईएको हो ।

अनेरास्ववियूले सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, अंग्रेजी माध्यमबाट पठनपाठन गराउन आवश्यक पहल गर्नुपर्ने, विद्यालयमा इमेल इन्टरनेटको सुविधाको लागि बजेट छुट्याउनुपर्ने, विद्यालयस्तरको परीक्षाका लागि बजेट छुट्याउनुपर्ने, पब्लिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने लगायतको माग गरेको छ ।
चितवनका निजी विद्यालयहरुले आफूखुशी शुल्क निर्धारण गर्ने, भर्ना गर्ने, विद्यालय पोशाक र पाठ्यपुस्तकमा सिण्डिकेट लगाउने र जबरजस्ती अभिभावकहरुलाई दबाब दिने प्रवृत्ति हावी भएको भन्दै यसै शैक्षिक सत्रबाट विधिसम्वत सञ्चालन गर्न र गुणस्तरमा ध्यान दिन सम्बन्धित पक्षसँग माग गरेका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुखहरुले शिक्षा समितिहरुको बैठक बसी आवश्यक निर्णय गर्ने र आउँदै गरेको नगरपरिषद मार्फत बजेट बढाएर थप नीति तथा कार्यक्रम ल्याउने प्रतिक्रिया दिएका छन् । ज्ञापन पत्र बुझाउन केन्द्रीय सदस्य सरोज भण्डारीलगायतका विद्यार्थी नेताहरु विभिन्न स्थानीय तहमा पुगेका थिए ।
























