Breaking News

कोरोनाको उच्च जोखिममा माडी, क्वारेन्टिनबाटै संक्रमण फैलिएको आशंका

Banner

चितवन, असार ८–

चितवनको दक्षिणी भेगमा रहेको माडी नगरपालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा देखिएको छ । लगातार संक्रमितको संख्या बढ्दै गएपछि माडी अहिले उच्च जोखिममा छ ।

माडीका थप चार जनामा आज (सोमबार) पनि कोरोना संक्रमण पुष्टि भयो । दोस्रो पटकको परीक्षणमा मात्रै उनीहरुमा कोरोना संक्रमण देखिएकाले माडी उच्च जोखिममा रहेको देखाउँछ । सोमबार कोरोना पुष्टि भएकाहरु क्वारेन्टिनमै बसिरहेका थिए । उनीहरु दिवाकर स्मृति विद्यालयको क्वारेन्टिनमा २८ दिनदेखि बस्दै आइरहेको थिए । यसअघि १४ औं दिनमा गरिएको परीक्षणमा हाल संक्रमण पुष्टि भएकाहरुको रिपोर्ट नेगेटिभ आएको थियो । तर सोही बेलाको परीक्षणमा अन्य ८ जनाको रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई थप १४ दिन क्वारेन्टिनमा राखिएको थियो । आइतबार दोस्रो परीक्षण गर्दा उनीहरुमा संक्रमण देखियो । माडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीले भने–‘शंका लागेरै उहाँहरुलाई क्वारेन्टिनमा थप गरेका थियौं, घर पठाउने बेलामा लक्षण देखिएपछि सबैको पीसीआर परीक्षण गर्दा पोजिटिभ देखियो ।’

दोस्रोपटक १४ दिन क्वारेन्टिन बसेपछि १३ जनाकै आरडीटी परीक्षण गरिएको थियो । त्यसमा एक जनाको पोजिटिभ देखिएको थियो । परीक्षण गराएका मध्ये केहीले स्वास्थ्यमा हल्का समस्या देखिएको बताएका थिए । अवस्था शंकास्पद देखिएपछि उनीहरुको पुनः पीसीआर परीक्षण गराईएको थियो । सरकारले जारी गरेको गाइडलाइन्स अनुसार पहिलो चरणमा संक्रमण नदेखिएपछि ती सबैलाई घर पठाउनु पथ्र्यौ । तर माडीले त्यसो गरेन । उनीहरुको पुनः पीसीआर परीक्षण गरायो र अन्त्यमा उनीहरुमा पनि संक्रमण पुष्टि भयो ।

यदि उनीहरुलाई परीक्षण बिना नै घर पठाएको भए संक्रमण समुदायस्तरमा फैलन सक्थ्यो । ‘हामी सुरुवात देखि नै सुरक्षा सजगता अपनाई रहेका छौं, अरुमा संक्रमण देखिएपछि सबैलाई रोक्यो, यसले समुदायमा संक्रमण फैलन पाएन’–स्वास्थ्य शाखा प्रमुख सुवेदीले भने । माडीमा हालसम्म १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११८ जना अझै क्वारेन्टिनमा

माडी नगरपालिकामा विदेशबाट आउने क्रम अझै रोकिएको छैन । यसअघि भारतबाट मात्रै आएका थिए भने अहिले दुवई, कुवेतलगायतका देशबाट पनि मानिसहरु घर आउन थालेका छन् । उनीहरु सबैलाई क्वारेन्टिनमा राख्ने गरिएको छ ।

माडीमा हाल ११८ जना क्वारेन्टिनमा रहेका छन् । जसमध्ये दिवाकर स्मृति विद्यालयमा ३९ जना, जनकल्याण माविमा २८ जना, खैरेनीमा २१ जना र माडी माविको क्वारेन्टिनमा ३० जना रहेको स्वास्थ्य शाखा प्रमुख शिव सुवेदीले बताए । उनका अनुसार यसअघि २४० जना भन्दा बढी क्वारेन्टिमा थिए । कतिपय संक्रमित भएर आइसोलेसनमा छन् भने धेरैजसो रिपोर्ट नेगेटिभ घर फर्किएका छन् ।

माडीका क्वारेन्टिन नै जोखिममा

अरुमा संक्रमण नफैलियोस् भनेर विदेशबाट आएकाहरुलाई नेपालमा क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाईएको छ । तर क्वारेन्टिनमा बस्नेहरुको व्यवहारका कारण अहिले क्वारेन्टिन स्थल नै जोखिममा परेको छ ।

क्वारेन्टिन भित्र भौतिक दुरी पालना नगर्ने, सरसफाईमा ध्यान नदिँदा क्वारेन्टिनस्थल नै जोखिममा परेको छ । सोमबार दोस्रो पटकको परीक्षणमा मात्रै चार जनामा कोरोना पुष्टि भएपछि क्वारेन्टिनमा बस्नेहरुको व्यवहार बारे उजागर गरेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी बताउँछन् । उनले भने–‘पहिलो पटक नेगेटिभ आएका व्यक्तिहरुको दोस्रोपटकको परीक्षणमा मात्रै पोजिटिभ देखिएकोले धेरै शंका उब्जाएको छ, क्वारेन्टिनमा बस्नेहरुको व्यवहारले यस्तो समस्या देखिएको हुन सक्छ ।’

प्रमुख तिवारीले स्वास्थ्य शाखाको सावधानीका कारण समुदायमा संक्रमण फैलिन नपाएको दावी गरे । उनले भने–‘यदी परीक्षण नगरी घर पठाएको भए समुदायमा संक्रमण फैलिन सक्थ्यो, हाम्रो सावधानीले जोगिएको छ ।’

प्रमुख तिवारीले क्वारेन्टिनमा बस्नेहरुले आफैले सामाजिक, भौतिक दुरी कायम गर्नुपर्नेमा जोड दिए । यसो भएमा मात्रै क्वारेन्टिन सुरक्षित हुनेछ । यदि कसैलाई केही भएको छैन भन्दै सबैसंगै बस्न थाले क्वारेन्टिन नै संक्रमण फैलाउने केन्द्र बन्न सक्ने तिवारी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>