Breaking News

भरतपुरको पुङगी खोलामा आकर्षक तलाउ बन्दै, सांसद र मेयरले गरे शिलान्यास

Banner

चितवन,असार ८-

भरतपुर महानगरको मुख्य शहरी क्षेत्र भएर बग्ने पुङगी खोलामा तलाउ निर्माण थालिएको छ । भरतपुर महानगरपालिका २ सप्तकन्या मन्दिर परिसरमा निर्माण हुन लागेको तलाउको बागमती प्रदेशका सांसद विजय सुवेदी र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले संयुक्त रुपमा शिलान्यास गरे ।

प्रदेश सरकारको स्थानिय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा तलाउ निर्माण थालिएको हो । प्रदेश सरकार र भरतपुर महानगरपालिकाले तलाउ निर्माणका लागि ५०/५० लाख बजेट विनियोजन गरेका छन । संरक्षण नहुँदा अतिक्रमणको चपेटामा परेको पुङगीखोला जनप्रतिनिधि निर्वाचित भएर आएपछि संरक्षण थालिएको थियो । खोलामा तलाउ सहित दाँया बाँया विभिन्न संरचना सहितको सौन्दर्यकरण परिकल्पना गरिएको छ ।

छोटो समयमा गुरुयोजना निर्माण गरेर तलाउ निर्माणको काम थालिएको भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेले जानकारी दिए । उनले गुरुयोजना अनुसार परिवर्तन नहुनेगरी निर्माणको काम सुरु भएकोे बताए । लकडाउनका कारण ढिलाइ भएपनि तोकिएको समयमा काम सम्पन्न हुनेमा उनको विश्वास छ । ‘गुरुयोजना अझै पुरा भएको छैन,लामिछानेले भने’,स्थानिय र जनप्रतिनिधिको सुझाब अनुसार परिवर्तन पनि गर्न सकिन्छ ।’

उनले गुरुयोजनामा फाइनल भएका काम प्रारम्भिक चरणमा गर्दै जाने बताए । ‘खोलालाई संरक्षण गर्न सुरुवातको चरणमा पर्खालको काम गरिनेछ ,जसले गुरुयोजनामा कुनै असर गर्दैन, उनले भने । बर्षातको समयमा धेरै योजनाहरु संचालन भइरहेको र प्राविधिक सबै ठाँउमा पुग्न नसक्ने भएकाले उपभोक्ताले र संरक्षण समितिले कामको निरन्तर निगरानी गर्न उनले अनुरोध गरे ।

भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं. २, ३ र वडा नं. ४ को रामघाट बाह्रघरे हुदैं नारायणी नदिमा मिसिन्छ । ६६ लाखमा निर्माण गर्नेगरी तलाउको काम कायक कन्सटक्सनले लिएको छ । तलाउ निर्माण पश्चात खोलाको संरक्षण र पर्यटकिय स्थान निर्माण हुनेछ ।

सांसद विजय सुवेदीले पुङगी खोलामा फरक खालको तलाउ निर्माण गर्न लागिएको भन्दै सफल हुने बताए । ‘विकास हाम्रो माटो, पानी र यहाँको वातावरणमा छ,उनले भने’,यसलाई हामीले राम्रो बनाउन सक्नुपछ, ।’

उनले थोरै भएपनि राम्रो काम गरौं भन्ने उदेश्यका साथ यो कामको थालनी गरिएको बताए । ७ किलोमिटर लामो खोलालाई तलाउ नै तलाउनको खालो बनाउने योजना रहेको उनले सुनाए । यही प्रकृती सिङगारेर विश्वका अन्य देश विकसित भए,हामीले नजान्दा पछाडी प¥यौं, अव सानै तहमा भएपनि काम गर्दै जानुपर्छ, सुवेदीले भने ।

पानी सिंचित गर्न, पानीका कृयाकलाप र गर्मी ठाउँमा तापक्रम घटाउनका लागि तलाउले मद्दत गर्ने उनले बताए । गणेशधामको तलाउसंग पुङगी खोलाका तलाउ जोडिदैं जाने सुवेदीले जानकारी दिए ।

उनले अवको विकासको मोडेल परिवर्तन गर्नुपर्ने बताए । ‘सडक मात्र विकास होइन,उनले भने’,भरतपुरलाई सभ्य र सुसंस्कृत बनाउन त्यस खालको संरचना बनाउनुपर्छ ।’ विकास सौन्दर्य सहितको विकास हुनुपर्नेमा उनको जोड छ । भरतपुर महानगरपालिकाका प्राविधिक र जनप्रतिनिधिले पनि यसलाई निरन्तर अनुगमन गरिरहने सुवेदीले बताए । प्रदेश सरकार र भरतपुर महानगरपालिकाका साझेदारीमा विभिन्न काम भइरहको छ । स्थायिन तहसंगको सहकार्यमा प्रदेश सरकारले काम गर्ने उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरभित्र रहेका खोलानाला र ताल तलैयाको संरक्षण गर्दै लैजाने बताइन् । उनले पुङगी खोलामा तलाउ निर्माण पश्चात महानगरको सौन्दर्य बढाउन थप मद्दत गर्ने उल्लेख गरिन । भरतपुर महानगरलाई हराभरा बनाउन निरन्तर अभियान संचालन गरिरहेको उनले बताइन् ।

प्रदेश सरकार र भरतपुर महानगरपालिकाको सहकार्यमा भएका योजनाहरुले भरतपुरको विकास मोडेलका रुपमा प्रस्तुत गर्ने धारणा राखिन । भरतपुर महानगरपालिका भित्र धमाधम विकास निर्माणका काम भइरहको उनले बताइन् ।

सप्तकन्या जलदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष राम प्रसाद भट्टको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २ का वडाध्यक्ष पूर्ण बहादुर श्रेष्ठ,वडा नं. ११ का वडाध्यक्ष बाबुराम अधिकारी, देवघाट क्षेत्रविकास समितिका सदस्य नवराज ढकाल,जलदेवि टोल सुधार समितिका अध्यक्ष मधुविलास अधिकारी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम सप्तकन्या जलदेवी मन्दिरका सचिव बुद्धिकुमार श्रेष्ठले संचालन गरेका थिए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>