Breaking News
चितवनमा थप ५ जनामा कोरोना भाइरस पुष्टि

चितवन, असार ८–
चितवनमा आज (सोमबार) थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये माडी नगरपालिकाका ४ जना र भरतपुर महानगरपालिकाका एक जना रहेका छन् । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको । अस्पतालका अनुसार माडी नगरपालिका वडा नंं.२, ५, ६ र ८ का ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु रहेका छन् ।
यस्तै भरतपुर महानगरपालिका वडा नं.२८ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै चितवनमा हालसम्म संक्रमितको संख्या ४२ पुगेको छ । चितवनमा कोरोनाबाटै एक जनाको मृत्यु भइसकेको छ ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा हिजो आइतबार २४९ वटा नमुना परीक्षण गरिएको थियो । जसमध्ये २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्य १६ जना संक्रमण पुष्टि भएकाहरु नवलपुरको बुलिङटार गाउँपालिका र गैंडाकोट नगरपालिकाका छन् ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा आइतबार भरतपुर अस्पतालबाट ३३, नवलपुरबाट ७३, चितवन मेडिकल कलेजबाट १३, पुरानो मेडिकल कलेजबाट २०, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट २३, भरतपुर महानगरपालिकाबाट ४२, नारायणी सामुदायिक अस्पतालबाट ३, माडी नगरपालिकाबाट १३, सेन्ट्रल अस्पतालबाट ४, इच्छाकामना गाउँपालिकाबाट १, राप्ती नगरपालिकाबाट १९ र खैरहनी नगरपालिकाबाट ५ वटा गरी २४९ वटा नमुना परीक्षण गरिएको थियो ।























