चितवन विशेष
रामनगर माविको नयाँ भवन शिलान्यास

चितवन,असार ६-
भरतपुर महानगरपालिका १ रामनगरमा रहेको रामनगर माविको नयाँ भवनको शिलान्यास गरिएको छ । तीनको कोठे नयाँ भवनको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् । भवनसंगै शौचालय र खानेपानी र फर्निचरका लागि समेत बजेट विनियोजन गरिएको छ ।
भरतपुर महानगरभित्रका १ सय ४ वटा सामुदायिक विद्यालयको नयाँ भवन निर्माण हुँदैछ । महानगरले आर्थिक वर्ष ०७६÷७७ को बजेटबाट १ सय ४ वटा सामुदायिक विद्यालयमा विभिन्न संरचना निर्माण गर्न लागेको हो । महानगरभित्र १ सय २३ वटा सामुदायिक विद्यालय छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि अपाङगमैत्री सहितको नयाँ भवन निर्माण गर्न लागेको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । भरतपुर महानगरभित्र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई प्रमुख आर्कषणको केन्द्र बनाउन भौतिक संरचनालाई प्राथमिकता दिइएको नगर प्रमुख दाहालले बताइन् ।
‘आजको शिक्षा गुणस्तरीय हुनुपर्छ’ उनले भनिन्, ‘अबको शिक्षा व्यवहारिक, प्रतिष्पर्धी, सक्षम र सवल हुनुपर्छ । महानगरले शिक्षा क्षेत्रको बजेट विनियोजनामा सम्झौता गर्दैन । आउँदो नगरसभाबाट शिक्षा शीर्षकमा थप बजेट वृद्धि गर्छौ ।’ महानगरलाई शैक्षिक हबको रुपमा विकास गर्न सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि गर्नु आजको आवश्यकता रहेको महानगर प्रमुख दाहालको भनाई छ ।

नयाँ निर्माण हुने भवनहरु चार कोठे, तीन कोठे र दुई कोठे हुनेछन् । करिब १८ करोडको लागतमा निर्माण हुन लागेको भवन निर्माण कार्यक्रमका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेका हुन् । संघीय सरकारबाट १ करोड ३३ लाख र भरतपुर महानगरको अन्तरिक स्रोतबाट रु ४ करोड ९५ लाख छुटाइएको छ । भवन निर्माणको काम बहुवर्षिय योजना अनुसार अघि बढ्ने महानगर प्रमुख दाहालले बताइन् ।
सो अवसरमा व्यवस्थापन समितिका अध्यक्ष भरत कुँबर, प्रधानाध्यापक शिव प्रसाद लम्साल, सल्लाहाकार टंक न्यौपाने, मधुकर न्यौपाने, सामाजिक अभियान्ता नारायण अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

























