Breaking News
युवाहरुले सडकमै सुतेर गरे प्रधानमन्त्रीको बेसार वक्तव्यविरुद्ध प्रदर्शन

काठमाडौं, असार ६-
सरकारको विरोधमा युवा–विद्यार्थीहरुले पछिल्लो केही समययता कोरोना भाइरसविरुद्ध कमजोर प्रयासको विरोधमा विरोध प्रदर्शन गर्दै आएका छन् ।
शनिबार राजधानीको शहिदगेट क्षेत्रमा भेला भएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र कार्याशैलीको विरोध गर्दै सडक तथा फुटपाथमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले शरीरमा बेसार तथा रगतको सांकेतिक रुपमा रातो रंग शरीरमा दलेर सडकमा सुतेका हुन् ।
सरकारको विरोधमा स्वस्फुर्त आन्दोलनमा उत्रिएका युवाहरुले सडकमा लाचार जनताको पीडा देखाउन सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार उदाशिन बनेको, स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको, बेसारको महिमा गाएर सरकारले कामचाहिँ नगरेको भन्दै असन्तुष्टि जनाउने प्लेकार्ड समेत बोकेका थिए ।
पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।
























