Breaking News
विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय

काठमाडौं, असार ६-
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ।
शनिबार विहान बसेको नेकपा सचिवालयको बैठकले नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको हाे।
नेपालीसँग विवाह गरेको ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेलासम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिए।
विदेशी ज्वाइँलाई पनि अंगीकृत नागरिकता दिनुपर्ने नेकपा महिला सांसदहरुको माग अस्वीकृत भएको छ । बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई थप समय राखेर भए पनि नागरिकता दिने प्रावधान राख्नुपर्ने धारणा राखेका थिए । तर अरु नेता सहमत भएनन् ।
नेकपा एक नेताकाअनुसार विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावमा कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत छैनन् । तर बहुमतका आधारमा भए पनि निर्णय गरेर अघि बढ्ने सहमति भएको छ ।
नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । अधिकांश विषयमा सहमति भए पनि वैवाहिक अगीकृतबारे सहमति जुट्न सकेको थिए । पछिल्लो पटक समितिको तर्फबाट विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव राखेपछि कांग्रेसले असहमति जनायो ।
























