Breaking News

दिनानाथ शर्माले भने – भारतले दार्जिलिङदेखि काँकडासम्म नेपाललाई फिर्ता दिनुपर्छ

Banner

काठमाडौं, ४ असार-

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री दीनानाथ शर्माले अंग्रेज साम्राज्यले लुटेको नेपालको दार्जिलिङ, कांकडासम्मको भूभाग भारतले नेपाललाई फिर्ता दिनुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ नक्सालाई संवैधानिक मान्यता दिन सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै नेता शर्माले भारत साँच्चै असल मित्र भए अंग्रेज सम्राज्यले लुटेको नेपाली भूभाग नेपाललाई नासोका रुपमा फिर्ता गर्नुपर्ने बताएका हुन् ।

‘यदि भारतले नेपाललाई असल मित्र ठान्छ भने अंग्रेजले लुटेको जमिन भारतबाट अंग्रेज भागिसकेपछि फिर्ता गर्नुपर्छ,’ शर्माले भने, ‘भारतले सगौरव हामीलाई दार्जिलिङ फिर्ता गरिदिनुपर्छ। अंग्रेजले लुटेको यो तपाईंहरूको नासो हो भनेर काँगडासम्मको जमिन फिर्ता गर्नुपर्छ।’

अंग्रेजले लुटेको जमिन अंग्रेज भारतबाट भागिसकेपछि भारतले नेपाललाई फिर्ता लिनुस् भन्नुपर्ने उनको तर्क छ। ‘तर हामीले ती भूमि माग गरेका छैनौं,’ शर्माले भने।

नेता शर्माले भनेका छन्, ‘चेलीबेटीको नाता हो, डोलीबेटीको नाता हो भारतका नेताहरुले भन्नुहुन्छ । यदि त्यसो हो भने सगौरव दार्जिलिङ हामीलाई फिर्ता गरिदिनुपर्छ र काँकडासम्मको भूभाग फिर्ता गरिदिनुपर्छ । यो तपाईंहरुको नासो हो, यो नासो बुझ्नुस् भनेर भन्नुपर्छ ।’

स्वयं केही भारतीय नेताहरुले समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको बताइरहेका बेला भारत सरकारले नेपालको भूमिबाट भारतीय सेना फिर्ता लैजानुपर्नेमा शर्माको जोड छ ।

नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेट्ने विषयमा देखिएको राष्ट्रिय एकताप्रति खुसी प्रकट गर्दै उनले यो राष्ट्रिय एकता निरन्तर कायम रहने विश्वास व्यक्त गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>