Breaking News
कोरोना अघिअघी सरकार पछिपछी : २० मध्ये १७ घटनाको मृत्युपछि मात्र संक्रमण पुष्टि

काठमाडौँ, असार ४-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक सार्वजनिक गरेको अपडेट तथ्यांकअनुसार नेपालमा असार ३ सम्ममा कोरोना भाइरस संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
यीमध्ये १७ जनाको मृत्युपछि मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । बाँकी ३ जनाको मात्र मृत्युअघि नै संक्रमण पत्ता लागेको थियो ।
अहिलेसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका २० जना मध्य १७ जनाको मृत्युपछि मात्र कोरोना भाइरस पोजेटिभ भएको रिपोर्ट थाहा पाउनुले पनि सरकार कोरोना परीक्षणमा चुकेका जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको पनि मृत्युपछि मात्र संक्रमण पुष्टि भएको थियो ।
मंगलबार बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारत ४६ वर्षीया महिलाको मृत्यु भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारमात्र ती महिलामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि गर्यो ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बैजनाथ गाउँपालिका–६ की महिलाको मृत्युपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो ।
यि हुन् मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका घटनाहरु :
जेठ २ गते नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक राम्चेकी २९ वर्षीया सुत्केरी महिला हुन् भने जेठ ४ गते बाँकेको नरैनापुरका २५ वर्षीय युवकको मृत्यु भएको हो ।
त्यसैगरी जेठ ४ गते बाराका ७० वर्षीय वृद्धको मृत्यु भएको हो । अनि जेठ १४ गते ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यस्तै जेठ १० गते अर्घाखाँचीको भूमिका स्थान घर भएका ३५ वर्षीय पुरुष भारतबाट फर्किदा मृत्यु भयो । जेठ १७ गते दैलेखको दुल्लु नगरपालिका ३५ वर्षीय पुरुषको मृत्यु भयो ।
त्यस्तै जेठ १८ गते, बाजुराको बुढीगङ्गा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिकाको मृत्यु भयो । जेठ २० गते पाल्पा सिलुवाखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यस्तै जेठ २२ गते सुर्खेत पञ्चपुरी नगरपालिका १ का २० वर्षीय युवकको मृत्यु भयो । जेठ २० गते डोल्पाको जगदुल्ला गाउँपालिका ३ घर भएका ५८ वर्षीय पुरुषको मृत्यु भयो ।जेठ २३ गते कैलालीको धनगढी ४ की ५५ वर्षीया महिलाको मृत्यु भयो ।
यस्तै स्याङ्जा वालिङ नगरपालिकाका ५८ वर्षीय पुरुषको जेठ २५ गते मृत्यु भयो । अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरुषको जेठ २८ गते मृत्यु भयो ।
त्यसैगरी जेठ २८ गते पर्साको वीरगञ्ज महानगरपालिकाका २५ वर्षीय युवकको मृत्यु भएको हो । जेठ ३० गते, बारा जिल्ला निजगढ नगरपालिका ६ योजना टोलका ५ वर्षीय बालकको मृत्यु भएको हो ।
गुल्मीको रेसुङ्गामा आइसोलेसनमा ३६ वर्षीय पुरुषको जेठ ३१ गते मृत्यु भएको हो । असार २ गते बाँकेकी ४६ बर्षीया महिलाको मृत्यु भयो ।
मृत्युअघि संक्रमण पुष्टि भएका घटना क्रमश: जेठ ८, २१, २७ गते मृत्यु भएकाको भने पहिल्यै रिपोर्ट आएको हो ।
उनीहरु गुल्मीका ४१ वर्षीय शिक्षक, दोलखाका ७६ वर्षीय पुरुष र भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय पुरुष हुन् ।
























