Breaking News
चितवनको खैरहनीमा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवन, असार ४–
चितवनमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा खैरहनी नगरपालिका–११ का २२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
ती युवा खरखुट्टे स्कुलको क्वारेन्टिनमा रहेका छन् । ती युवालाई २० दिनअघि भारतबाट ल्याएर क्वारेन्टिनमा राखिएको खैरहनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले जानकारी दिए । उनले भने–‘भारतबाट आएर भरतपुरको होल्डिङ सेन्टरमा राखिएको थियो, त्यहाँबाट हामीले खरखुट्टेमा रहेको क्वारेन्टिनमा राखेका थियौं ।’ उनले ती युवाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । बुधबार खैरहनी नगरपालिकाको १६ वटा नमुनाको परीक्षण गरिएको थियो ।
यस्तै भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा गैंडाकोट नगरपालिका–१३ का १८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार २१० वटा नमुनाको परीक्षण गरिएको थियो । जसमध्ये २०८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
बिहीबार अर्घाखाँचीको ६६, भरतपुर अस्पतालको ३३, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ३४, चितवन मेडिकल कलेजको ८, पुरानो मेडिकल कलेजको ४, गुञ्जमान अस्पतालको ८, भरतपुर महानगरपालिकाको १०, गैंडाकोट नगरपालिकाको ३१ र खैरहनी नगरपालिकाको १६ वटा नमुनापरीक्षण गरिएको थियो ।
























