Breaking News
लकडाउनको अवधिमा देशभर २ सय किलोमिटर सडक कालोपत्रे

काठमाडौं, असार ३ –
लकडाउनको अवधिमा मुलुकभर झण्डै २ सय किलोमिटर सडक कालोपत्रे भएको छ । लकडाउनमा पनि बिकाश निर्माणको काम जारी राखेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंबाहिर १ सय ७७ किलोमिटर र काठमाडौं उपत्यकामा ९ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
‘लकडाउनको बेलामा हामीले धेरै काम गरेका छौं । काठमाडौंबाहिर १ सय ७७ किमी सडक कालोपत्रे गरिएको छ भने २ सय ३० किमी सडक ग्राभेल भएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले भन्नुभयो । उहाँका अनुसार यसअवधीमा उपत्यका बाहिर १ सय ४४ किमी सडकको ट्रयाक खोलिएको छ भने एक सय ५४ किमी मर्मत भएको छ । लकडाउनकै अवधिमा ३९ वटा पुलको निर्माण सकिएको छ ।
मन्त्री नेम्वाङका अनुसार लकडाउनकै बेलामा उपत्यकामा सडक कालोपत्रे बनाउनेदेखि खाल्डाखुल्डी पुर्ने काम भएको छ । ९ किमी सडक कालोपत्रे भएको छ भने १८ किमी सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतको काम सकिएको छ । सहरी बिकाश मन्त्रीसमेत रहनुभएका नेम्वाङले दिनुभएको जानकारी अनुसार पाँच वटा पुलसहित काठमाडौंमा ६५ वटा आयोजनाको अहिले काम भइरहेको छ । मन्त्री नेम्वाङले गत मंसिर पहिलो साता नेतृत्व सम्हाल्नुभएको थियो । मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै उहाँको ध्यान काठमाडौंको बिग्रिएका सडकमा गएको थियो । जुन फागुनसम्म मर्मतको काम गराइसक्नु भएको छ ।
























