Breaking News
चीन र भारत टकराव : सैन्य र आणविक हतियारमा को शक्तिशाली ?

काठमाडौं, असार ३-
दुई ठूला छिमेकी भारत र चीनका सैनिकबीच हिंस्रक झडप हुँदा लद्दाखको गल्वान उपत्यकामा सोमबार राति २० भारतीय सेनाको मृत्यु भएको छ ।
जनसंख्याको हिसाबले विश्वको पहिलो र दोस्रो तथा परमाणु शक्ति सम्पन्न दुई उदाउँदा शक्तिबीचको तनावले एसिया मात्र होइन, पूरै विश्व यतिबेला तरंगित भएको छ ।
सैन्य शक्तिको तुलना गर्दा अमेरिका र रुसपछि चीन तेस्रो र भारत चौथो सैन्य शक्ति भएका मुलुक हुन् । भारतमा सक्रिय सैनिकको संख्या १४ लाख छ । त्यो संख्या चीनसँग २३ लाख छ।
त्यसैगरी भारतको वार्षीक रक्षा बजेट ४२ अर्ब डलर छ भने चीनको एक सय १६ अर्ब डलर छ । लडाकु विमान भारतसँग दुई हजार एक सय दुईवटा छन्। चीनसँग लडाकु विमान दुई हजार नौ सय ५५ वटा छन् ।
त्यसैगरी भारतसँग लडाकु ट्यांक चार हजार चार सय २६ वटा छ भने चीनसँग ६ हजार चार सय ५७ वटा छ। त्यस्तै आणविक हतियारमा पनि भारत भन्दा चीन शक्तिशाली छ। भारतमा आणविक हतियार एक सय ३० वटा छ भने चीनसँग दुई सय ७० वटा छ ।
के भन्छ भारत ?
भारतीय सेनाले मंगलबार अबेर राती एक आधिकारिक बयान जारी गर्दै भन्यो, ‘भारत र चीनको सेना गलवान इलाकाबाट पछि हटेको छ । १५÷१६ जूनको राती यहाँ दुई देशका सैनिकबीच झडप भएको थियो । झडप र गतिरोध भएको इलाकामा ड्युटीका क्रममा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए । शून्य डिग्रीभन्दा पनि मुनिको तापक्रम र अत्यधिक उचाई भएको यो इलाकामा गम्भीर रुपमा घाइते यी १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र सम्प्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’
के भन्छ चिन ?
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले पिपल्स लिबरेशन आर्मी (पिएलए) को पश्चिमी थिएटर कमान्डका प्रवक्ता चांग शुइलीको बयान पिएलएको आधिकारिक बिबो अकाउन्टमा पोस्ट गरिएको जानकारी दिएको छ । उक्त बयानमा चांगले भारतले निकै कडा रुपमा आफ्नो सैनिक रोक्नुपर्ने र विवाद समाधानका लागि संवादको सही बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।
चांगले भनेका छन्, ‘भारतीय सैनिकले आफ्नो बचन उल्लंघन गरेको छ र एकपटक पुनः एलएसी पार गरेका छन् । जानीजानी चिनियाँ बललाई उक्साए र उनीहरुमाथि हमला गरे । जसका कारण दुबै पक्षमा आमने–सामने झडप भयो र यसैकारण हताहतको स्थिती बन्यो । भारत आफ्नो सैनिकलाई रोक्न कडा निर्देशन लागू गरोस् र कुराकानीमार्फत् विवाद सुल्झाओस् भन्ने माग गर्छु ।’























