Breaking News

भरतपुर अस्पतालले फेर्‍यो विज्ञप्तीः कोरोना अस्पताल बन्द होइन, स्थगन

Banner

चितवन, असार २–

मंगलबार दिउँसो भरतपुर अस्पतालको आधिकारिक फेसबुक पेजमा एउटा प्रेस विज्ञप्ती जारी गरियो । विज्ञप्तीमा भरतपुर अस्पताल, भरतपुर कोभिड–१९ ल्याब र कोरोना अस्पतालले दिएको सेवाको बारेमा उल्लेख छ । सोही विज्ञप्तीको बीचमा लेखिएको थियो–‘हालसम्म कोरोना विशेष (अस्थायी) अस्पतालबाट शनिबार र आइतबार गरी १८ जना पोजिटिभ बिरामीहरुलाई भरतपुर अस्पतालमा स्थानान्तरण गरी उक्त कोरोना विशेष (अस्थायी) अस्पताल बन्द गरिएको छ । सुरक्षाको दृष्टिकोणले उक्त अस्पताललाई पूर्ण रुपमा निर्मलीकरण गरिने छ ।’
यही कुरालाई उल्लेख गर्दै नारायणी अनलाईनले भरतपुर कोरोना अस्पताल बन्द भएको समाचार प्रकाशित गर्‍यो । अन्य विभिन्न संचारमाध्यमले समेत प्राथमिकता साथ सो समाचार प्रकाशन गरे । अस्पताल बन्द भएको समाचार प्रकाशित भएपछि भरतपुर अस्पताललाई चर्को दवाब आएको स्रोतले जनाएको छ । अन्ततः मंगलबार राती ९ बजे नै अस्पतालले पुनः अर्को विज्ञप्ती जारी गर्दै बन्द भएको ठाउँमा स्थगन गरिएको उल्लेख गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीद्धारा जारी विज्ञप्तीमा कोरोना अस्पतालको मर्मत सम्भारका लागि हाललाई सेवा स्थगित गरिएको उल्लेख छ ।

केहीदिन अघि सोही अस्पतालमा रहेका कोरोना संक्रमितहरुले आइसोलेसन कक्षमै शौचालयको पानी बगेको भिडियो सार्वजनिक गरेपछि अस्पताल फेरि विवादमा तानिएको थियो । संक्रमितहरुले आफूहरुको गुनासो कोरोना अस्पतालले नसुनेको, गुणस्तरी खानाको व्यवस्था नगरे जस्ता आरोप लगाएका थिए । अस्पतालमै शौचालयको पानी बगेको खबर सार्वजनिक भएपछि त्यहाँ रहेका सबैलाई भरतपुर अस्पताल सारिएको थियो ।

भरतपुर महानगरपालिकाको अग्रसरतामा खोलिएको सो अस्पताल वैशाखदेखि भरतपुर अस्पतालको व्यवस्थापनमा संचालन भइरहेको थियो । कोरोना अस्पतालबाट ९५३ जना शंकास्पद बिरामीको मात्र स्वाब संकलन गरी आरटी पीसीआर विधिबाट कोरोना परीक्षणका लागि विभिन्न प्रयोगशाला पठाईएको थियो । यस्तै सो अस्पतालमा २८ जना कोरोना भाइर संक्रमितको व्यवस्थापन गरिएको थियो ।

गत चैतदेखि भरतपुर–१० स्थित चितवन प्रदर्शनी केन्द्रमा संचालनमा आएको सो अस्पताल सुरुदेखि नै विवादमा तानिदै आइरहेको थियो । पछिल्लो समय अस्पतालमा रहेका स्वास्थ्य उपकरणसंगै अन्य सामग्रीहरु अस्पतालकै कर्मचारीहरुले चोरी गरेको सीसीटिभी फुटेज बाहिरिएको थियो । यसले देशभर नै तरंग छाएको थियो । सोही घटनालाई लिएर व्यापक अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगक हेटौंडाले छापा मारेर अनुसन्धान समेत गरिरहेको छ ।

अस्पताल संचालनका लागि करोड बढी खर्च भएको विवरण सार्वजनिक भएको थियो २५ लाखको शौचालय मात्रै निर्माण गरिएको विवरण बाहिरिएको थियो ।

यो पनि पढ्नुहोस्

७२ घण्टामा निर्माण गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल बन्द

भरतपुर कोरोना अस्पतालका सबै संक्रमितलाई भरतपुर अस्पतालमा सारियो

भरतपुर कोरोना अस्पतालको कन्त बिजोगः सबै संक्रमितलाई शनिबार भरतपुर अस्पतालमा सारिने

भरतपुर कोरोना अस्पताल चोरी प्रकरणः तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

भरतपुर कोरोना अस्पताल अनियमितता प्रकरणः ११ लाखको जुत्ता खरिद

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>