Breaking News
कर्णालीको ३३ अर्ब ७४ करोड बजेट : नयाँ गाडी नकिन्ने, मन्त्रीदेखि कर्मचारीसम्मको भत्ता कटौती

सुर्खेत, असार १-
कर्णाली प्रदेशले सरकारले आर्थिक वर्ष ०७७/७८ मा ३३ अर्ब ७४ करोडको कजेट ल्याएको छ ।
कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७÷७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको हो ।
सोमबार कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन आगामी आर्थिक वर्षमा सरकारी खर्चमा एम्बुलेन्स बाहेकका सवारी साधन खरिद नगर्ने घोषणा गरिएको छ।
यस्तै, आर्थिक वर्ष ०७७/७८ मा नयाँ संगठन संरचना पनि स्थापना नगर्ने निर्णय गरिएको छ।
प्रदेशको न्यून आन्तरिक स्रोत, अन्तरसरकारी वित्त स्थानान्तरणबाट प्राप्त स्रोतमा हुने संकुचन र कोभिड–१९ का कारणले उत्पन्न परिस्थितिलाई ख्याल गर्दै प्रशासनिक खर्चमा कटौती गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
यस्तै, आगामी आर्थिक वर्षमा मन्त्री, राजनीतिक कर्मचारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च तथा जोखिम भत्ता समेत कटौती गरिएको छ।
कार्यक्रम सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर लगायतका शिरोभार खर्चमा पनि ६० प्रतिशत खर्च कटौती गरिएको छ।
कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), पुँजीगततर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख (९ प्रतिशत) रुपैंया बजेट विनियोजन गरेको हो ।
सोमबार बिहान ११ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
























