Breaking News
चितवनका एक पुरुषसहित सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि

चितवन, असार १–
चितवनमा थप एक जना पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–१४ का ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । योसंगै चितवनमा संक्रमितको संख्या ३६ पुगेको छ ।
भरतपुर अस्पतालले यसअघि विवरण सार्वजनिक गर्दा संक्रमित व्यक्ति महिला भनेर सार्वजनिक गरेको थियो । तर पछि सच्याउँदै अस्पतालले पुरुष भनेर राखेको छ । भरतपुर–१४ का वडाध्यक्ष ओमप्रसाद पोखरेलले संक्रमित व्यक्ति महिला नभई पुरुष भएको जानकारी दिए । उनले भने–‘महिला हाम्रोमा छदै छैन, पुरुष मात्रै हाम्रो क्वारेन्टिनमा बसेका छन् ।’
यस्तै नवलपरका एक पुरुष, नुवाकोटका २, अर्घाखाँचीका ३ जनागरी सात जनामा कोरोनास संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
संक्रमित हुनेहरुमा नवलपुरको बौदीकाली–४ बस्ने २० वर्षीय पुरुष, नवाकोटको ताराकेश्वर–५ बस्ने ६ वर्षीया बालिका र ३१ वर्षीया महिला, अर्घाखाँचीकोको भूमिकास्थान–६ बस्ने २० वर्षीय पुरुष, वर्ष ३५ र वर्ष ३५ का पुरुष रहेका छन् ।
हिजो आइतबार प्रयोगशालामा ३८१ वटा नमुनाको परीक्षण गरिएको थियो । जसमध्ये ३७४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
आइतबार सल्यानको ८६, भरतपुर अस्पतालको १८, वीपी कोइराला मेमोरियल क्यान्स अस्पताल भरतपुरको १८, चितवन मेडिकल कलेजको ९, पुरानो मेडिकल कलेजको ३१, नुवाकोटको ३२, अर्घाखाँचीको १२१, भरतपुर महानगरपालिकाको ३३, खैरहनीको ८, सेन्ट्रल हस्पिटलको एक र नवलपुरको २४ वटा नमुना परीक्षण गरिएको थियो ।
























