Breaking News

विदेशबाट फर्किएका युवालाई नवलपुरमा सहुलियत कर्जा, मासिक दुई लाखसम्म कमाउने आशा

Banner

ज्ञानु पंगेनी

नवलपुर , जेठ ३२

नवलपुरका  ८ जनाले लकडाउनको  समयमा सहुलियत कर्जा प्राप्त गरेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै केही गर्न चाहनेलाई सरकारले बिना धितो १० लाख रुपैयाँसम्म पाँच प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराउने नीति लिएको छ । उक्त सहुलियत कर्जा प्राप्त गरी केही गर्न चाहने युवालाई रिटर्नी माईग्रेन्ट नेपाल नवलपुरले कर्जा उपलब्ध गराउन सहजीकरण गर्दै आएको छ ।

कोरोना माहामारीका कारण भएको लकडाउनको समयमा  लगानी  नहुँदा व्यवसायलाई अगाडि बढाउन नसकेको समयमा सहुलियत कर्जा पाउदा धेरै राहत मिलेको देवचुलीका राजु विकले बताए । ‘ १० वर्ष अफगानिस्तान बसेँ धेरै दुःख सहेर काम गरे तर अब देशमा कृषि पेसा गर्ने सोच बनाएर काम सुरु गरेको छु । ऋणधन गरेर भैँसी फर्म सञ्चालन गरेको छु । रिटर्नीहरुले सहुलियत कर्जा पाइन्छ भनेर कागजात पेस गरेको थिए । त्यो प्राप्त भयो धेरै खुसी लागेको छ ।’ विकले भने ।

विकको फर्ममा अहिले सात भैँसी छन् । प्राप्त भएको कर्जाबाट अझै भैँसी थप गर्ने र गोठलाई व्यवस्थित बनाउने योजनामा रहेको विकले सुनाए । काम सुरु गर्ने समयमा कागज बोकेर धैरै बैँक धाउँदा समेत ऋण नपाएको दुःख सुनाउदै विकले भने, ‘बिना धितो त्यो पनि सहुलियत ब्याजदरमा ऋण पाउदा धेरै खुसी लागेको छ । रिटर्नी माईग्रेन्ट र एनएमबी  बैँकलाई धन्यवाद दिन चाहन्छु । उनीहरुले बाटो नदेखाएको भए र सहयोग नगरेको भए मैले आफ्नो पेसालाई राम्रोसँग अगाडि बढाउन सक्थिन ।’

आफ्नै देशमा  केही गर्ने अठोट लिएर कृषि पेशालाई अंगालेका विकले विदेशमा झैँ देशमा खटिने हो भने महिनामा कम्तिमा एक देखि दुई लाखसम्म कमाउन सकिने बताए । अहिले ७ वटा भैसीबाट खर्च कटाएर ७० हजारसम्म आम्दानी गरेको उनले बताए । ‘विदेशको भूमिमा दिनरात नभनी १५ घण्टा खटेर काम गरेँ यहाँ त त्यसरी खटिने हो भने डेढ दुई लाख सजिलै कमाउन सकिन्छ । ’ विकले भने ।

यस्तै गैँडाकोटका नवराज पौडेलले पनि सहुलियत कर्जा पाएका छन् । लकडाउको समयमा पनि कर्जा पाएपछि आफ्नो व्यसायलाई व्यवस्थित  गर्न सजिलो हुने उनले बताए । ओमनमा १० वर्षको लामो समय बेकरी उद्योगमा  काम गरेको अनुभवलाई उनले अहिले स्वदेशमा नै सुरुवात  गरेका छन् । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा नै केही गर्न चाहने  युवालाई सहुलियत कर्जा  प्राप्त हुने  थाहापाएपछि आफूले रिटर्नी माईग्रेन्ट मार्फत् कागजात पेस गरेको र अहिले कर्जा पाएपछि व्यवसायलाई अगाडि बढाउन सजिलो हुने भन्दै पौडेलले खुसी व्यक्त गरेका छन् । सस्तो ब्याजदरमा बिना धितो ऋण पाउदा काम गर्ने उत्साह समेत जागेर आएको पौडेलले सुनाए ।

सहुलियत कर्जा पाउनेमा  भिमबहादुर थापा , गोबिन्द नन्द महतो , नारायण प्रसाद न्यूरे , खेमनसिंह  सारु मगर , श्याम प्रसाद भुषाल , नवराज पौडेल, इमानाथ भट्टराई र राजु विक रहेका छन् ।  सबै ८ जनालाई एनएमबी बैँकले  कर्जा प्रदान गरेको हो । अन्य ११ जनाको समेत कागजी प्रक्रिया  अघि बढेको र छिट्टै काम हुने जनाइएको छ । सहुलियत कर्जा पाउनेहरुसंग रिटर्नी माईग्रेन्ट नेपाल नवलपुरको कार्यालय कावासोतीमा आज छलफल कार्यक्रम भएको थियो । छलफलमा रिटर्नी माईग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेत , एनएमबी बैङ्कका ब्राञ्च म्यानेजर गोविन्द अधिकारी, रिटर्नी माईग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष भीमबहादुर महतो लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै रिटर्नी माईग्रेन्ट नेपाल गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनेतले रिटर्नी मार्फत् सहुलियत कर्जाका लागि पहल भइरहदा कतिपय साथीहरुले कुरा नबुझी विभिन्न नकारात्मक टिप्पणी  गरेको भन्दै साच्चिकै मेहेनत गर्ने र राम्रोंसँग कागजात पेस गरेर काम गर्ने आँट गरेकाले अहिले कर्जा पाएको बताए । काम गर्दा विभिन्न नराम्रा टिकाटिप्पणी सुन्न परे पनि अहिले  मेहेनत गरेका साथीहरुले कर्जा पाउदा आफु र आफ्नो संस्थालाई समेत गर्भ लागेको बताए । उनले आउदा दिनमा अझै राम्रोसँग काम गरेर समयमा नै आफूले लिएको कर्जा तिर्नका लागि समेत आग्रह गरे ।

नवलपुरमा राष्ट्रिय बाणिज्य बैँक मार्फत् १३ जना , सिद्धार्थ बैँक मार्फत् १० जना  नेपाल इन्भेष्टमेन्ट बैँक मार्फत् ३ जना र एनएमबी बैँकका मार्फत् १९ जनाले सहुलियत  कर्जा पाएको  थनेतले जानकारी दिए ।  एनएमबी बैँक मार्फत् ९ जनाको  कागजपत्रको काम भईरहेकाले केही दिनभित्र पाउने जानकारी दिए । सहुलियत बर्जा लिएकाहरु ऋधिकांशले कृषि पेशालाई नै अंगालेको थनेतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>