Breaking News
रोगको प्रकोप फैलिएपछि चितवनका किसानले ट्याक्टरले जोते धानबाली

चितवन, जेठ ३२–
पूर्वीचितवनका विभिन्न क्षेत्रमा लगाएको चैते धानमा रोगको प्रकोप फैलिएपछि किसानहरु मारमा परेका छन् । काट्ने बेलामा धानमा रोग लागेर सखाप भएपछि किसानहरुको चिन्ता थपिएको छ । रोगले सबै धान सखाप पारेपछि किसान धानबारीमा नै ट्याक्टर लगाउन बाध्य भएका छन् । राप्ती नगरपालिका–४ बेलुका किसानले उत्पादित धान रोगले नष्ट गरेपछि बाध्य भएर ट्याक्टर लगाएको बताएका छन् ।
किसान कमल प्रसाद तिवारीले आईतबार ट्याक्टर लगाएर धानको बोटसहित जोतेका छन् । ‘तीन दिनमा सबै सखाप पार्यो’ किसान तिवारीले भने ‘झुलेको धानमा रोग लागेपछि पपटा वाहेक केही छैन, राखिरहनुको औचित्य नभएपछि जोतेका हौं ।’
उनले २२ कठ्ठा जग्गा ठेक्का लिएर खेती गर्दै आएका छन् । ती जग्गाबाट एक मुठी पनि धान आएको छैन । जोताई देखी रोग लागेपछि विषादी प्रयोगसम्म ५५ हजार रुपैयाँ खर्च गरेको तिवारीले बताए । उनले वार्षिक प्रति कठ्ठा २ हजार ५ सय रुपैयाँ भाडा तिर्दै आएका छन् । उनको जीवनमा यो पहिलो घटना हो ।

अघिल्लो वर्ष २२ कठ्ठामा ५५ क्वीन्टलसम्म धान उत्पादन हुँदै आएको थियो । उनकै साँधमा खेती गर्दै आएका वुद्धिराज खरेलको पाँच कठ्ठा जग्गामा पनि हर्दिनाथ जातको धानमा यस्तै समस्या देखिएको छ । उनले आगो लगाएर नष्ट गर्ने प्रयास गरे तर वोट हरियो भएकाले आगो लाग्न सकेन ।
उनले चैत १० गते धान रोपाई गरेका थिए । उनको पनि तीन दिनमै सबै सखाप भयो । ‘धान झुल्दा राम्रो उत्पादन हुने आशा थियो’ किसान खरेलले भने ‘पाँच कठ्ठामा १६,१७ बोरा उत्पादन हुन्थ्यो, अहिले एक गेडो नआउने भयो ।’ उनले धान लगाउँदा ११ हजार रुपैयाँ खर्च भएको सुनाए ।
बेलुकाकै किसान राधिका क्षेत्रीले धान उत्पादन नभए पनि परालका लागि भने धानको बोट काटेका छन् । ठूलो मेसिनको प्रयोग गरेर उनले परालका लागि धानको बोट कटान गरेको बताईन् । उनले १२ कठ्ठा जग्गा ठेक्कामा लिएका छन् । शुक्रबार परालका लागि धानको बोट काटिएको उनले सुनाईन् । पूर्वीचितवनमा हर्दिनाथ एक धानमा यस्तो समस्या देखिएको हो । कृषि प्राविधिकहरुले नेक ब्लास्ट रोगले धानमा क्षती पुर्याएको बताउँदै आएका छन् ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले पूर्वीचितवनको करिब पाँच हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानमा यस्तो समस्या देखिएको बताए । उनले राप्ती र खैरहनी नगरपालिकामा यो समस्या देखिएको जानकारी दिए । ‘यो धान नलगाउन गतवर्ष नै हामीले किसानलाई सुझाब दिएका थियौं’ उनले भने ‘हाम्रो सुझाब नमान्दा यो समस्या भयो ।’ हर्दिनाथ–३ र चैते ५ धान लगाउन किसानलाई सुझाब दिएको उनले बताए ।
‘यसवर्ष रोगका लागि मौसम पनि अनुकुल भयो’ उनले भने ‘निरन्तर पानी परेका कारण पनि समस्या भयो ।’ उनले धानमा देखिएको समस्याका विषयमा प्रदेश र केन्द्र सरकारलाई जानकारी गराइसकेको बताए । खाना मिठो र धेरै फल्ने भएका कारण पनि किसानले हर्दिनाथ–१ धान लगाएका हुन् । चितवनमा कुल ७ हजार हेक्टरमा धान खेती गरिएको छ ।
























