Breaking News
भरतपुर कोरोना अस्पतालको कन्त बिजोगः सबै संक्रमितलाई शनिबार भरतपुर अस्पतालमा सारिने

चितवन, जेठ ३०–
शुक्रबार दिउँसो भरतपुर कोरोना विशेष (अस्थायी) भित्रको एउटा भिडियो सार्वजनिक भयो । भिडियो सार्वजनिक गर्नेवाला थिए माडीका ६ जना कोरोना भाइरस संक्रमितहरु । उनीहरुले विभिन्न दुखेसो र अस्पतालको अवस्था देखाउँदै भिडियो सार्वजनिक गरे । भिडियोमा अस्पतालको बेडमुनी बाथरुमको पानी बगेको दृश्य प्रष्ट देखिन्थ्यो ।
भिडियो खिच्ने व्यक्तिले आफूले अस्पताल भित्रको समस्या बारे जानकारी गराउँदा पनि अस्पताल व्यवस्थापन पक्ष मौन रहेको बताएका छन् । उनीहरुले भिडियो कैद गर्दै ‘यो अस्पतालको आइसोलेसन कक्ष हो या स्वीमिङ पुल’ भन्दै प्रश्न समेत गरेका छन् । संक्रमितहरुले गर्मी बढ्दै जाँदा पंखाको राम्रो व्यवस्थापन नभएको र सुत्न समेत नसकेको गुनासो गरेका छन् । उनीहरुले राम्रो खानाको समेत व्यवस्था नभएको गुनासो पोखेका छन् ।
सबै संक्रमितलाई भरतपुर अस्पताल सारिने
भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल भित्रको समस्या बारे संक्रमितहरुले भिडियो नै खिचेर सार्वजनिक गरेपछि उनीहरुलाई त्यहाँबाट सार्ने तयारी भएको छ । कोरोना अस्पतालमा रहेका २२ जना मध्ये १८ जनालाई भरतपुर अस्पतालको आइसोलेसनमा सार्ने तयारी भइरहेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले बताए । उनले भने–‘भोलि (शनिबार) उहाँहरु सबैलाई भरतपुर अस्पतालमा ल्याउँछौं, भरतपुर अस्पतालमा बेड तयार छ ।’
डा.तिवारीले अस्पताल भित्र संक्रमित भएकाले तत्कालै मर्मत संभार गर्न सक्ने अवस्था नरहेको बताए । उनले थपे–‘त्यहाँबाट सबैलाई भरतपुर अस्पताल सारेपछि तीन दिनपछि मात्रै मर्मतको काम सुरु गर्छौ, त्यसपछि मात्रै अन्य संक्रमितलाई राख्छौं ।’ डा.तिवारीले अस्पताल भित्र बाथरुमको पानी छिरेको स्वीकार गर्दै संक्रमितलाई बस्नलाई समस्या भने नभएको बताए । उनले भने–‘एउटा भागमा मात्रै पानी छिरेको देखियो, उहाँहरु बस्नलाई भित्र ठूलो ठाउँ हुँदा पनि त्यही मात्रै देखाएर भिडियो बनाए ।’ उनले खानामा पनि कुनै खराबी नरहेको दावी गरे ।
अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २२ जना र भरतपुर अस्पतालमा ९ जना गरी ३१ संक्रमित रहेका छन् । जसमध्ये भोलि (शनिबार) बिहान ६ जना संक्रमित डिस्चार्ज हुँदैछन् । उनीहरुलाई शुक्रबार नै अस्पतालले डिस्चार्ज कागज दिई सकेको छ । शुक्रबार पोजिटिभ देखिएका माडीका ८ जना मध्ये एक जनालाई मात्रै भरतपुर अस्पताल ल्याइएको छ । ती व्यक्तिमा केही लक्षण देखिएकाले भरतपुर अस्पताल ल्याईएका हो । अन्यलाई बघौडा अस्पतालको आइसोलेसनमा राखिएको छ ।
चितवनमा हालसम्म ३५ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ भने २ जना डिस्चार्ज भएर घरमै छन् भने एक जनाको मृत्यु भएको छ ।
























