Breaking News

चितवनमा कोरोना भाइरस संक्रमितलाई परीक्षण नै नगरी डिस्चार्ज गरियो

Banner

चितवन, जेठ ३०–

चितवनमा उपचाररत ६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई परीक्षण बिना नै डिस्चार्ज गरिएको छ । क्यान्सर रोगी भरतपुर महानगरपालिका–६ का ७४ वर्षीय पुरुष, उनकी ७३ वर्षीया श्रीमती र ५२ वर्षीय छोरासहित अन्य ६ जनालाई आज (शुक्रबार) भरतपुर अस्पतालले डिस्चार्ज गरेको हो ।
यस्तै अन्य डिस्चार्ज हुनेमा देवचुली–१२ नवलपुरका ४९ वर्षीय पुरुष, देवचुली–१ नवलपुरका १९ वर्षीय युवक र त्रिवेणी–६, सुस्ता पूर्वका ४५ वर्षीय पुरुष रहेका छन् । उनीहरु १५ देखि ३१ दिनसम्म अस्पतालमा उपचार गराएर डिस्चार्ज भएका हुन् ।

सरकारले जारी गरिएको कोभिड–१९ राष्ट्रिय परीक्षण गाइडलाइन्स अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए । उनीहरुलाई डिस्चार्ज गरिए पनि शर्त राखिएको छ । डिस्चार्ज गएर घर फर्किए पनि १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने, क्वारेन्टिनको सबै नियम पालना गर्नुपर्ने, पारिवार सदस्यसंग कम्तिमा एक मिटरको दुरी प्रयोग गर्ने, साबुन पानीले मिचिमिच हात धुने, मास्क प्रयोग गर्ने, पौष्टिक खानाहरु सन्तुलित रुपमा खाने र कुनै लक्षण आएमा सम्बन्धित चिकित्सकसंग सम्पर्क गर्ने गरी डस्चार्ज गरिएको डा.तिवारीले बताए ।

सरकारले कोरोना पोजिटिभ देखिएका व्यक्तिहरुलाई कुनै लक्षण नभएको तीन दिन र १४ दिन भर्ना भएर आइसोलेसन बसेपछि परीक्षण नगरी नै डिस्चार्ज गर्न र गराउन निर्देशन दिएकोले सोही अनुरुप डिस्चार्ज गरिएको अस्पतालको भनाई छ ।

अस्पतालका अनुसार उनीहरुलाई पालिका प्रमुख/वडाध्यक्ष/स्वास्थ्य शाखासंगको समन्वयमा डिस्चार्ज गरिएको हो । अस्पतालले अरु बेला कोरोना भाइरस संक्रमितहरुलाई लगाता दुईपटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरेको थियो । तर यसपटक परीक्षण नै नगरी पठाईएको हो ।

अस्पतालका मेसु डा.तिवारीले अहिले विश्वभर नै यसरी नै संक्रमितहरुलाई डिस्चार्ज गर्ने गरिएको भन्दै लक्षण नदेखिएका बिरामीमा दुई साता पछि अन्य व्यक्तिमा संक्रमण सर्ने सम्भावना धेरै कम रहेको बताए । उनले भने–‘लक्षण नभएका व्यक्तिमा १४ दिनपछि डिस्चार्ज गर्न सकिने भएकाले विश्वभर नै त्यसरी डिस्चार्ज गर्न थालिएको छ, संक्रमितको शरीरमा भाइरस जिवितै रहे पनि अन्य व्यक्तिमा सर्न सक्दैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>