Breaking News
चितवनमा बढ्दै कोरोना भाइरस संक्रमण, संक्रमितको संख्या ३५ पुग्यो

चितवन, जेठ ३०–
चितवनमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएको छ । पछिल्लो एक सातामै जिल्लामा ३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । गत सोमबार एकै दिन सर्वाधिक २० जनामा कोरोना संक्रमण फेला परेको थियो ।
जसमध्ये ६ जना माडी र १४ जना भरतपुरका थिए । त्यसको दुई दिनपछि नै बुधबार फेरि दुई जनामा कोरोना संक्रमण देखियो । भरतपुरका एक जना र जुटपानीका एक जना संक्रमित थपिए । आज (शुक्रबार) फेरि ८ जना संक्रमित थपिए । ती सबै माडी नगरपालिकाका हुन् ।
दिवाकर स्मृति विद्यालय रमाइलो डाँडाको क्वारेन्टिनमा रहेका माडी नगरपालिका–१ का २३, २७ र ४७ वर्षीय पुरुष, माडी–२ का ३४ वर्षीय पुरुष, माडी–५ का ४५ वर्षीय पुरुष, माडी–६ का १९ वर्षीय पुरुष, माडी–७ का ५१ वर्षीय पुरुष र माडीकै २७ वर्षीय पुरुष रहेका छन् ।
चितवनमा पहिलो कोरोना संक्रमण गत वैशाख ५ गते देखिएको थियो । वैशाख ४ गते भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजिटिभ देखिएपछि पुनःपरीक्षणका लागि काठमाडौंको टेकु पठाईएको थियो । राप्ती नगरपालिका ती कोरोना भाइरस संक्रमित आमा छोरो निको भइसकेका छन् । दोस्रो संक्रमण फेला पर्न एक महिना बढी लाग्यो ।
गत जेठ ९ गते भरतपुर महानगरपालिका–६ केशरबागका पनि एकै परिवारमा दुई जनामा संक्रमण देखियो भने अर्को दिन सोही परिवारका एक संक्रमण देखियो । उनीहरु भारतबाट उपचार गराएर फर्किएका थिए ।
पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि चितवनमा त्रास पनि बढ्दै गइरहेको छ । चिकित्सकहरुमा नै कोरोना संक्रमण पुष्टि भएपछि मानिसहरुमा त्रास छाएको छ ।
























