Breaking News

चितवनको माडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, जेठ ३०–

चितवनको माडी नगरपालिकाका थप ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज (शुक्रबार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा १९ देखि ५१ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । आज पुष्टि भएका कोरोना भाइरस संक्रमितहरु सबै क्वारेन्टिनमा बसीरहेका छन् । उनीहरु दिवाकर स्मृति विद्यालय रमाइलो डाँडाको क्वारेन्टिनमा रहेका मध्येका हुन् । सो क्वारेन्टिनमा हाल भारतबाट आएका ४५ जना बसीरहेका छन् ।

यसअघि माडीकै ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये २ जना निको भएर घर फर्कि सकेका छन् भने एक जना ६८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

भरतपुर प्रयोगशालामा जेठ २८ र २९ संकलन गरिएको १९७ वटा स्वाब नमुना परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ आएको हो । अन्य १८९ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । आज परीक्षण गरिएका नमुनाहरु मध्ये माडीको क्वारेन्टिनको ८५ वटा, भरतपुर अस्पतालको २९ वटा, खैरहनी नगरपालिकाबाट ११ वटा, भरतपुर मेडिकल कलेजबाट ८, चितवन मेडिकल कलेजबाट ५ वटा, राप्ती नगरपालिकाबाट १५ र देवघाट तनहुँबाट १५ वटा रहेका छन् ।

हाल माडी नगरपालिकाभर २२८ जना क्वारेन्टिनमा रहेका छन् । जसमध्ये आज ८५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

आज कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुलाई भरतपुर नल्याई माडीमै राखेर उपचार गर्ने तयारी भइरहेको माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले बघौडा अस्पतालमा ३० बेडको आइसोलेसन कक्ष तयार भइसकेकोले सोही स्थानमा संक्रमितलाई राखिने जानकारी दिए ।

यसअघि संक्रमण पुष्टि भएका ६ जना भने भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>