Breaking News

नेपालीको उद्धार हुने २५ गन्तव्यको हवाई भाडा निर्धारण, कुन देशका नेपाली कहिले आउँदैछन्

Banner

काठमाडौँ, जेठ २९–

सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि विदेशमा समस्यामा परेका नेपालीहरुलाई धमाधम उद्धार कार्य सुरु गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट हुने नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण गरेको छ ।

मन्त्री योगेश भट्टराईसहितको बुधबार विभिन्न २५ गन्तव्यका लागि भाडातर तोकेको हो। सरकारले विमान चार्टर्ड गरि उद्धार गर्ने तयारी गरेको छ, जसको भाडा यात्रु स्वयमले तिर्नुपर्ने छ ।

कुन देशको कती ?

साउदी अरबको दमामका लागि पाँच सय ९० डलर, रियादका लागि ६ सय ३० डलर, जेदहाका लागि ७ सय ७० डलर, कुवेतका लागि पाँच सय ७० डलर, कतारको दोहाका लागि पाँच सय ४५ डलर, ओमानका लागि पाँच सय १० डलर, यूएईको दुबई, आबुधावी र शारजाहका लागि समान ५ सय डलर भाडा तोकिएको छ ।

यस्तै मलेसियाको क्वालालाम्पुरका लागि पाँच सय २० र बहराइनका लागि पाँच सय ४५ डलर तोकिएको छ । नारिताका लागि ९ सय ३५ डलर, जोर्डनका लागि ८ सय १५, साइप्रसका लागि ८ सय ७५, लन्डनका लागि एक हजार ३ सय ४० र जर्मनीको फ्रान्कफर्टका लागि एक हजार २ सय ५५ डलर भाडा तोकिएको छ।

हङकङका लागि पाँच सय ५०, माल्दिभ्सका लागि पाँच सय ५, कम्बोडियाका लागि ४ सय, बैंककका लागि ३ सय ९०, नयाँ दिल्लीका लागि २ सय ५, बैंगलोरका लागि ३ सय ३५, मुम्बईका लागि ३ सय १०, बंगलादेशका लागि एक सय ६५ र सुडानको खार्तुनका लागि ९ सय ४० डलर तय भएको छ। पहिलो चरणमा हुने उद्धारका गन्तब्य मुलुकको भाडा निर्धारण गरिएको हो ।

मन्त्रालयले उद्धार उडानमा प्रयोग हुने एयरलाइन्सको लागत खर्च उठने गरी भाडा तय गरेको दावी गरेको छ। पहिलो चरणमा ११ जुनदेखि जुन २५ गतेसम्मको लागि उद्धार गर्ने तयारी छ। सरकारले नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्सलाई चार्टर्ड फ्लाइटका लागि अनुमती दिएको छ ।

उद्धार कार्य सुरु

विदेशका नेपालीहरुलाई राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन् । नेपाल एयरलाइन्सका वाइडबडी र न्यारोबडी दुवै जहाज तथा हिमालय एयरलाइन्सको न्यारो बडी जहाज नेपालीहरुको उद्धारमा परिचालित छन् ।

बिहीबार कुवेतबाट फ्लाइटबाट करिब ३ सय महिला श्रमिक फर्किंदै छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । कुवेतबाट दुईवटा जहाजमा नेपालीहरु काठमाडौं आइपुग्दैछन् । एउटा फ्लाइट साढे ११ बजे र अर्को फ्लाइट दुई बजेतिर काठमाडौं आउने छ ।

उडान तालिका

पर्यटन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार बंगलादेशको ढाकाबाट जुन १४ तारिखमा दुई वटा फ्लाइट छन् । यी दुवै फ्लाइट विदेशी विमान कम्पनीका हुनेछन् ।

त्यस्तै जुन १५ तारिखमा नेपाल एयरलाइन्सले माले र क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीहरुलाई ल्याउने छ ।

जुन १६ मा युएई र कतारबाट नेपाल एयरलाइन्सले तथा कुवेत, र श्रीलंका र मालेबाट हिमालय एयरलाइन्सले नेपालीहरुलाई स्वदेश ल्याउने छ ।

जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ भने हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । जुन १७ मै अमेरिकाबाट एक विदेशी एयरलाइन्सको पनि उडान हुने पर्यटन मन्त्रालयलले सार्वजनिक गरेको उडान तालिकामा उल्लेख छ ।

जुन १८ मा नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीहरुलाई काठमाडौं ल्याउने छ । सो दिन हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट उडान भर्ने छन् ।

यस्तै जुन १९ मा जापान र कुवेतबाट नेपाल एयरलाइन्सले तथा साउदी र नाइजेरीबाट हिमालय एयरलाइन्सले उडान गर्ने छन् ।

उडान तालिका अनुसार २० जुनमा साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुने छन् । सोही दिन हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपालीहरुलाई ल्याउने छ । २० जुनमै ईयूको एउटा फ्लाइट हुने पर्यटन मन्त्रालयको तालिकामा उल्लेख छ ।

त्यस्तै २१ जुनमा दक्षिण कोरिया र मस्कट (ओमान)बाट नेपाल एयरलाइन्सले नेपालीहरुको उद्धार गर्ने छ । कुवेत र क्वालालम्पुरबाट हिमालय एयरलाइन्सले जहाजको उडान हुने छ ।

२२ जुनमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सको तथा पाकिस्तान र कतारबाट हिमालय एयरलाइन्सको उडान हुने छ ।

२३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्सको तथा युएई र युगान्डाबाट हिमालय एयरलाइन्सको उडान हुने तालिकामा उल्लेख छ ।

२४ जुनमा नेपाल एयरलाइन्सको मात्र फ्लाइट छ । सो दिन नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीहरुलाई उद्धार गर्ने छ ।

२५ जुनमा नेपाल एयरलाइन्सको वाइड बडीले जापानका नेपालीलाई उद्धार गर्दा हिमालय एयरलाइन्सले साइप्रस÷इजरायलबाट उडान गर्ने छ ।

यी उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । साथै ८५ प्रतिशत यात्रु भएमात्र उडान हुने पनि मन्त्रालयले जनाएको छ । यात्रुहरुले पीसीआर वा आरडीटी नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>