Breaking News
नयाँ नक्साको विरुद्धमा लागेपछि सरिता गिरीलाई कारवाही गर्ने पार्टीकै चेतावनी

काठमाडौं, जेठ २८–
नेपालले जारी गरेको नयाँ नक्साकोविरुद्धमा लागेपछि सांसद सरिता गिरीलाई समाजवादी पार्टीले कारवाही गर्ने चेतावनी दिएको छ ।
निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएपछि गिरीलाई पार्टीले नै कारबाहीको चेतावनी दिएको हो।
समाजवादी पार्टीले गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन समेत दिएको छ । बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् ।
बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । उनको सो प्रस्तावको तीव्र विरोध भइरहेको छ ।
मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए । तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची–३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको छ। उक्त संशोधनको माथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन्।
गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भू–भाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन्।






















