Breaking News

कोरोना संक्रमितको मृत्युः नारायणी सामुदायिकलाई चितवन प्रशासनले सोध्यो स्पष्टिकरण

Banner

चितवन, जेठ २८–

चितवनमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएपछि सुरुवाती चरणमा उपचार गरेको नारायणी सामुदायिक हस्पिटललाई जिल्ला प्रशासन कार्यालय चितवनले स्पष्टिकरण सोधेको छ ।

भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलको आइसीयूमा उपचाररत भरतपुर–११ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई तत्कालै सामान्य अक्सिनको भरमा कसैको अनुमति नलिई अस्पतालले भरतपुर अस्पताल पठाएको थियो । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार दिउँसो ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै चितवन प्रशासन र चिकित्सकहरुले ती बिरामीलाई तत्कालै अन्यत्र नसार्न आग्रह गरेका थिए । तर नारायणी सामुदायिकले जबरजस्ती ती बिरामीलाई आइसीयूबाट निकालेर भरतपुर अस्पताल पठाएपछि उनको मंगलबार विहान ७ बजेर ५ मिनेटमा मृत्यु भएको थियो ।

चितवन प्रशासन र भरतपुर अस्पतालले आफूहरुको अनुमति बिना नै बिरामीलाई सारेको भन्दै आपत्ति जनाएका थिए । सोही विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय चितवनले स्पष्टिकरण सोधेको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले नारायणी अनलाईनसंग भने–‘हामी हिजै (मंगलबार) अस्पताललाई पत्र काटेर स्पष्टिकरण सोधेका छौं, जतिसक्दो छिटो जवाफ मागेका छौं ।’

सहायक प्रमुख जिल्ला अधिकारी शर्माले कसैको अनुमति बिना नै जटिल अवस्थाका बिरामी अन्यत्र सारिएकोले स्पष्टिकरण सोधिएको बताए । प्रशासनको स्पष्टिकरणमा बिरामी अन्यत्र सार्दा सहमति लिएको हो या होइन, लिएको भए कोसंग लिएको, अस्पतालमा सेवा प्रवाह गर्दा सेवाग्राही र सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको लागि के कस्ता मापदण्ड अपनाईएको छ ? जोखिम प्रति संस्थाको संवेदनशीलता कस्तो छ, त्यसको प्लानसहितको जवाफ माग गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने–‘कोभिड–१९ संक्रमण भएका गम्भिर बिरामीलाई कम्तिमा पनि स्थानीय प्रशासनको सहमति, सामान्यतय समन्वय र सम्बन्धित स्वास्थ्य संस्थाको सामान्य सहमति, समन्वय हुनुपर्ने हो त्यो भएको हो या होइन, भएको हो भने कुन तह ? को संग, कसबाट समन्वय भएको हो खुलाएर पठाउनु भनेका छौं ।’

पत्र प्राप्त भएको छ, जवाफ दिन्छौंः अध्यक्ष भक्तमान

नारायणी सामुदायिक हस्पिटलका अध्यक्ष डा.भक्तमान श्रेष्ठले प्रशासनले पठाएको पत्र प्राप्त भएको बताए । उनले नारायणी अनलाइनसंग कुरा गर्दै पत्रको जवाफ छिट्टै दिने बताए । अध्यक्ष श्रेष्ठले आफूहरुले प्रशासनकै समन्वयमा बिरामीलाई भरतपुर अस्पताल पठाइएको दावी समेत गरे । उनले भने–‘बिरामीलाई आवश्यक स्वास्थयकर्मीकै निगरानीमा राखेर भरतपुर अस्पताल पठाएका हौं, उपचारमा कुनै लापरवाही गरेका छैनौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>