Breaking News
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ २८-
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपालको बारेमा बोल्दा ध्यान पुर्याउन आग्रह गरेका छन् ।
ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अघिल्लो हप्ता नेपालबारे दिएको अभिव्यक्ति आलोच्य र निन्दनीय भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले योगीबारे उठेको प्रश्नको जवाफमा भने- ‘उत्तर प्रदेशमा मुख्यमन्त्री आदित्यनाथले नेपालको विरुद्धमा त्यसरी बोल्नुभएको हो भने त्यो जायज हैन । यदि त्यसरी नेपाललाई उहाँले धम्काउन खोज्नुभएको हो भने त्यो उचित हैन । अहिले यति भनौं उहाँ केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको, तैपनि उहाँले मुख्यमन्त्रीको हैसियतले त्यस्तो बोल्नुभएको हो भने नबोलिनुपथ्र्यो, त्यो बोल्नुभएको हो भने आलोच्य विषय हो । त्यसरी नेपाललाई धम्की दिनुभएको हो भने त्यो निन्दनीय विषय हो । त्यस्तो कुरालाई हामी नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन, नेपाल हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले सन् १९५० को भारतसँगको सन्धि अपमानपूर्ण भएको र त्यसलाई नेपालले अहिलेसम्म नस्वीकारेको बताए । आफू भारत भ्रमणमा गएको बेला छलफल गरेर उच्चस्तरीय समिति बनाएर त्यसबार अध्ययन गरेको र त्यसको प्रतिवेदन बुझ्न भारतले नमानिरहेको बताए । भारतले प्रतिबेदन बुझ्न नमान्नु र सिफारिसहरुलाई कार्यान्वयन गर्न नखोज्नु सहज कुरा नभएको उनले बताए ।
गत बुधबार भारत लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा महामन्त्री योगी आदित्यनाथले नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले ‘तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालले सम्झिनुपर्छ’ भनी धम्कीपूर्ण भाषा बोलेका थिए ।
























