Breaking News

नारायणी सामुदायिक हस्पिटलको चरम लापरवाही, भेन्टिलेटरमा रहेका संक्रमितलाई जबरजस्ती सार्दा मृत्यु

Banner

चितवन, जेठ २७–

चितवनको भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलको चरम लापरवाहीका कारण कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भेन्टिलेटरमा रहेका भरतपुर–११ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई जबरजस्ती सरकारी अस्पताल पठाउँदा उनको मृत्यु हुन पुग्यो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएपछि नारायणी सामुदायिक हस्पिटलको भेन्टिलेटरमा उपचाररत ती पुरुषलाई साँझ साढे ६ बजे नै भरतपुर अस्पतालको आइसीयूमा सारिएको थियो । संक्रमण पुष्टि भएलगत्तै गम्भिर अवस्थाका ती बिरामीलाई तत्काल अन्यत्र नसारी सोही अस्पतालमा उपचार गर्न सरोकाराला निकायले नारायणी सामुदायिकलाई आग्रह गरेका थिए । तर सो अस्पतालले कसैको आग्रह नसुनी जबरजस्ती एम्बुलेन्समा राखेर सरकारी अस्पताल पठाएको थियो । भरतपुर अस्पतालमा लैजाने क्रममा ती पुरुषलाई सामान्य अक्सिजन मात्रै दिएर राखिएको थियो । जबकी सामान्य अक्सिजनले उपचार सम्भव नभएर उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले कोरोना संक्रमित बिरामीको उपचार गर्नु सरकारी अस्पतालको मात्रै दायित्व नभई निजीको पनि रहेको बताए । उनले आफूहरुको आग्रहलाई बेवास्ता गर्दा दुःखद घटना भएको बताए । उनले भने–‘हामीले संक्रमण पुष्टि भएलगत्तै अवस्था गम्भिर भएकाले सोही अस्पतालमै उपचार गर्न भनेका थियौं, तर हाम्रो कुरा सुन्दै नसुनी जबरजस्ती सरकारी अस्पताल सारियो ।’ उनले सरकारी अस्पतालको आइसीयूमा भेन्टिलेटरमै राखेर उपचार गर्दा पनि बचाउन नसकिएको बताए । उनले ती व्यक्तिको मृत्यु हुनुमा चरम लापरवाही नै भएको बताए । ‘ती बिरामीको शुक्रबारबाट नै सोही अस्पतालमा उपचार भइरहेको थियो, कोरोना पुष्टि पो सोमबार भयो’ उनले भने ‘कोरोना पुष्टि नहुँदासम्म त्यही उपचार सम्भव भयो, पुष्टि हुँदा जबरजस्ती सारे ।’

कोरोना संक्रमण पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले समेत गम्भिर अवस्थाका ती बिरामीलाई अन्यत्र नसार्न आग्रह गरेका थिए । तर उनको आग्रह पनि नारायणी सामुदायिकले पनि सुनेन् । ‘मैले पनि ती बिरामीलाई सोही अस्पतालमै राखेर सुरक्षा साबधानी अपनाएर उपचार गर्न भनेको थिए, तर उहाँहरुले सुटुक्कै बिरामी सार्नु भएछ’–प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।

जबरजस्ती सरकारी अस्पताल सार्दा आज (मंगलबार) विहान ७ बजेर ५ मिनेटमा उनको मृत्यु भयो ।

ती पुरुषको शब अहिले भरतपुर अस्पतालकै आइसीयू कक्षमा राखिएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनासंग सहकार्य गरिरहेको भरतपुर अस्पतालका मेसु डा.तिवारीले बताए । उनले भने–‘सेनासंग तालीम प्राप्त व्यक्तहरु भएकाले समन्वय गरिरहेका छौं, आज साँझ सम्ममा शव व्यवस्थापन गछौं ।’

मृतक पुरुषमा पहिलोदेखि नै सुगर र प्रेसरको समस्या थियो । उनी निमोनियाले ग्रस्त थिए भने सोही बेला कोरोनाले पनि आक्रमण गर्दा उनको ज्यान गुम्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>