चितवन विशेष
थारु पत्रकारको तीनदिने आधारभूत पत्रकारिता तालीम सुरु

चितवन, जेठ २५–
जारी लक डाउनको समयलाई सदुपयोग गर्ने उद्देश्यले आज (आइतबार)देखि तीनदिने निःशुल्क आधारभूत पत्रकारिता तालीम सुरु भएको छ । भर्चुवल अनलाईन जुम प्रविधि मार्फत देश विदेशमा रहेर पत्रकारितामा रुची राख्ने थारु समुदायका युवाहरुलाई लक्षित गरेर तालीम आयोजना गरिएको संघका महासचिव सन्तकुमार चौधरीले जानकारी दिए ।
संचार क्षेत्रमा आउन चाहनेहरुका लागि तालीम प्रभावकारी हुनसक्ने थारु पत्रकार संघका सल्लाहकार एवंम फोनिजका उपाध्यक्ष लक्की चौधरीले बताए । तालीमले अवसर समेत सृजना गर्न सक्ने भन्दै तालीममा उठेका विषयहरुलाई गहन रुपमा लिन सहभागीहरुलाई आग्रह गरे । उद्घाटन सत्रमा बोल्दै संघका अर्का सल्लाहकार डा. कृष्णराज सर्वहारीले यस्ता खालका तालीमले सबैलाई उर्जा दिने बताए । सबैलाई प्राप्त अवसर र यो समयको सहि सदुपयोग गर्न समेत सुझाव दिए ।
कार्यक्रममा पत्रकार ठाकुर सिंह थारुले तालिमलाई अवसरको रुपमा लिन आग्रह गरे । तालीममा राखिएका विषय गहन र महत्वपूर्ण रहेकाले पत्रकारितामा रुची राख्नेहरुका लागि निकै फलदायि हुने बताए । संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा आयोजना गरिएको तालिममा काठमाण्डौं, नवलपुर, रुपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, बारा, मोरङ, सप्तरी, सुर्खेत, जुम्ला देखि छिमेकी राष्ट्र भारत हुँदै मलेसिया, यूएई, साईप्रसलगातका ठाउँबाट ७० जना सहभागी छन् ।
तालीमको पहिलो दिन प्राविधिक शिक्षक दुर्गा चौधरीले पत्रकारितामा गुगल टुल्सको प्रयोग र यसको उपयोगीता बारे जानकारी दिए । यस्तै थारु पत्रकार संघका महासचिव सन्तकुमार चौधरीले आमसंचारको विषयमा सहजीकरण गरेका छन् । पहिलो दिनको तालीम निकै उत्साहजनक लागेको सहभागीहरुले प्रतिक्रिया दिए । मलेसियाबाट तालीममा सहभागी भएका आरएन थारुले यसअघि पत्रकारिता गर्दै आएपनि यस्तो खालको तालीममा पहिलो पटक सहभागीता जनाउन पाएकोमा खुशी व्यक्त गरे ।
तालीमको दोश्रो दिन भोली (सोमबार) नेपालमा थारु संचार माध्यमहरुको अवस्था, इतिहास र सम्भावनाको विषयमा थारु पत्रकार संघका सल्लाहकार समेत रहेका अन्नपूर्णपोष्टकर्मी डा. कृष्णराज सर्वहारी र समाचार के हो ? समाचारको स्रोत कसरी खोज्ने ? समाचार लेखन लगायतका विषयमा रेडियो कान्तिपुरकी प्रार्वता चौधरीले सहजीकरण गर्नेछिन् । यस्तै सोमबार नै अनलाईन पत्रकारिता कसरी गर्ने विषयमा थारु पत्रकार संघकी उपाध्यक्ष उन्नती चौधरीले आफ्नो अनुभव सहित सहजीकरण गर्नेछिन् ।
फिल्ड रिपोटिङ कसरी गर्ने, विपद्को बेला रिपोटिङ गर्नुपर्ने पूर्व तयारी के–के हुन् भन्ने विषयमा मंगलबार कान्तिपुर दैनिकका ठाकुर सिंह थारुले सहजीकरण गरेका छन् । यस्तै मंगलबार नै नेपाली पत्रकारिताको शैली र न्यू मिडियाको बारेमा गोरखा पत्र दैनिकका लक्की चौधरीले सहजीकरण गर्नेछन् । तालीमको अन्तिम सेसनमा भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय अध्यक्ष डण्ड गुरुङले पत्रकारिताको आचार संहिताको बारेमा सहजीकरण गर्नेछन् । तालीम प्रत्येक दिन दिउँसो १ बजेदेखि साढे ३ बजे सम्म चल्नेछ ।
























