Breaking News
कोरोना पीडितको राहतमा देवघाट गाउँपालिकाको ४३ लाख बढी खर्च

देवघाट, जेठ २५-
तनहुँको देवघाट गाउँपालिकाले कोभिड–१९ को नियन्त्रण र बन्दाबन्दीबाट प्रभावित घरपरिवारलाई राहत वितरण गर्दा ४३ लाख रुपैयाँ खर्च भएको जनाएको छ । गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचार कोषबाट ४३ लाख ७७ हजार ९६० रुपैयाँ खर्च भएको जनाएको हो ।
सो कोषमा ५५ लाख ५५ हजार १४५ जम्मा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए। गाउँपालिकाले बन्दाबन्दीका क्रममा दुई चरणमा गरी दुई हजार १५१ घरपरिवारलाई राहत वितरण गरेको थियो । राहत वितरणमा मात्रै ३० लाख ९४ हजार ६२४ रुपैयाँ खर्च भएको गाउँपालिकाले जनाएको छ ।
उनका अनुसार वडा नं १ मा ४४०, वडा नं २ मा २८४, वडा नं ३ मा २२८, वडा नं ४ मा ४३१ र वडा नं ५ मा ७६८ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
गाउँपालिकाले कोरोना सङ्क्रमणबाट बच्नका लागि दुई हजार ५०० थान सर्जिकल मास्क, ११० थान एन ९५ मास्क, १० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिर्इ), आठ थान इन्फ्रारेड गन, २५० थान स्यानिटाइजर, २० थान क्वारेन्टिनका लागि शै्यया, ३० थान तन्ना, चार हजार ४६८ थान साबुन, पाँच थान इलेक्ट्रिक स्प्रे र ३६० थान फिनेल खरिद गरेको जनाएको छ ।
गाउँपालिकालाई सांसद कृष्णकुमार श्रेष्ठले एक हजार ५०० थान सर्जिकल मास्क र छ थान पिपिइ सहयोग गरेका थिए भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले २०० थान सर्जिकल मास्क, १०० मिली स्यानिटाइजर ५० थान उपलब्ध गराएका थिए । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले एक थान इन्फ्रारेड गन गाउँपालिकालाई उपलब्ध गराएका थिए।
यसैबीच देवघाट गाउँपालिकाले वडा नं ५ मा गरिएको राहत वितरण कार्य पारदर्शी भएको जनाएको छ । वडा नं ५ भएको राहत वितरण अपारदर्शी भएको भन्दै नेपाली काँग्रेस गाउँ कार्यसमितिले केही दिनअघि आरोप लगाए पनि गाउँपालिकाले भने राहत वितरण कार्य पारदर्शी नै भएको दाबी गरेको छ ।
गाउँपालिका उपाध्यक्ष एवम् राहत व्यवस्थापन तथा वितरण गाउँ समन्वय समितिकी संयोजक विमला थापाले प्रेस विज्ञप्ति जारी गरी राहत वितरण कार्य पारदर्शी नै भएको बताइन् । वडा नं ५ का लागि केही दाताले दिएको माइतीघर ब्राण्डको जिरा मन्सुली चामल साटफेर गरी त्योभन्दा धेरै परिमाणमा सोना मन्सुली चामल वितरण गर्ने वडा नं ५ का अध्यक्ष यालबहादुर गुरुङले प्रक्रिया सुरु गरे पनि पछि त्यस निर्णयमा केही असमझदारी उत्पन्न भएपछि सो निर्णय रद्ध भएको थियो ।
बिरुवा वितरण
डिभिजन वन कार्यालय तनहुँले सर्वसाधारणलाई निःशुल्क बिरुवा वितरण शुरु गरेको छ । जिल्लालाई हरियाली बनाउन र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले कार्यालयले बिरुवा वितरण सुरु गरेको हो ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीका बीचमा पनि सर्वसाधारणले कार्यालयमा आएर बिरुवा लिएर जाने गरेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । ‘कार्यालयले एक हप्ता अगाडिदेखि बिरुवा वितरण खुल्ला गरेको छ, बिरुवा चाहिनेले कार्यालयमा आएर लैजान सक्नुहुन्छ’, उनले भने।
डिभिजन वन कार्यालयको नर्सरीसहित अन्य आठ सवडिभिजन कार्यालयमा गरी ६ लाख बिरुवा तयारी अवस्थामा रहेको छ । बरालका अनुसार डिभिजन वन कार्यालयमा दुई लाख ५० हजार र देवघाट, विमलनगर, भानु, व्यास, छाङ, बेलचौतारा, भीमाद सवडिभिजनमा ५०÷५० हजार बिरुवा उत्पादन भएको छ । थप बिरुवा पनि उत्पादन हुने क्रममै रहेको उनले बताए।
गत आर्थिक वर्षमा ६ लाख ४० हजार बिरुवा वितरण गरेको कार्यालयले यो वर्ष ६ लाख ५० हजार बिरुवा वितरणको तयारी गरेको सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए। कार्यालयले चाँप, रुद्राक्ष, नारेश्वर, तेजपात, बेल, कुरिलो, कल्कीफूल, पीपल, सुगन्धकोकिला, रुख कटहर, ज्याकराण्डा, श्रीखण्ड, गुलाब, जामुना, गुलमोहर लप्सी, अम्बा, टाँकी, अमला, ड्रागन फ्रुट, बडहर, सिसौ, अशोक, बकाइनो, खयर, मेगो स्टिन चिउरी, टिक, ल्यागरस्ट्रोमियालगायत बिरुवा उत्पादन गरेको छ ।
“सामान्य अवस्था भएको भए यतिबेला कार्यालयमा बिरुवा माग्नेको भीड हुन्थ्यो तर परिस्थिति अहिले सामान्य छैन”, उनले भने, “अहिलेको विषम परिस्थितिको बीचमा पनि दैनिक नौ÷दश जनालाई बिरुवा वितरण भइरहेको छ ।” कार्यालयले जिल्लाका विभिन्न सामुदायिक तथा निजी वनमा वृक्षरोपणका लागिसमेत बिरुवा वितरण गर्ने गरेको छ । जिल्लालाई हरियाली बनाउन र वन हराभरा बनाउन बिरुवा वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।
सवडिभिजन कार्यालय विमलनगर, म्याग्देलगायतले पनि सर्वसाधारणलाई निःशुल्करुपमा बिरुवा वितरण गरिरहेको छ । जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६१६ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन रहेको छ । रासस
























