Breaking News

काँग्रेसबाट निर्वाचित प्रतिनिधिले भरतपुर कोरोना अस्पतालमा चोरी गर्नेविरुद्ध किटानी जाहेरी दिने

Banner

चितवन, जेठ २४–

भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको चोरी प्रकरणलाई लिएर नेपाली काँग्रेसबाट निर्वाचित भरतपुर महानगरपालिकाका प्रतिनिधिहरुले किटानी जाहेरी दिने भएका छन् ।

घटना संलग्न कर्मचारीविरुद्ध जिल्ला प्रहरी कार्यालय भरतपुरमा किटानी जाहेरी दिन लागेको हो । महानगरका काँग्रेस निकट निर्वाचित जनप्रतिनिधिहरुको बैठकले किटानी जाहेरी दिने निर्णय गरेको हो । आन्दोलनको नेतृत्व गरिरहेका वडा अध्यक्ष चित्रसेन अधिकारीले आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन लागेको जानकारी दिए । ‘सबैको राय सल्लाहमा कानुनी प्रक्रियामा जाँदैछौं, भोलि (आइतबार) प्रहरीमा किटानी जाहेरी दिन्छौं ।’

सार्वजनिक सम्पत्ति चोरी हुँदा पनि गुपचुपमै घटना मिलाउने प्रयास भइरहेको भन्दै लोकतन्त्रवादी महानगरपालिकाका जनप्रतिनिधिहरु त्यसको भण्डाफोर गर्ने बताए । उनले भने–‘देशविदेशमा रहेका नेपालीहरुको चासो बनेको यस घटनालाई हामी त्यसै साम्य दिदैनौं, दोषी माथि कारवाही गरेरै छोड्छौं ।’

शनिबार बसेको जनप्रतिनिधिहरुको बैठकले कोरोना अस्पताल चोरी प्रकरण घटनालाई कडा रुपमा उठान गर्नुपर्नेमा जोड दिएका थिए । सो क्रममा महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले न्यायिक समितिको संयोजकको हैसियते आफूले राय प्रतिवेदन पेश गरि सकेको जानकारी दिइन् ।

उनले अस्पतालमा चोरी भएको बलियो प्रमाण नै सिसीटिभी फुटेज रहेको बताउँदै कानुनी सल्लाह अनुरुप नै राय पेश गरिएको बताइन् । उनले पेश गरिएको राय सुझावमा प्रमाण नष्ट नगर्ने भएकाले संलग्न कर्मचारीहरुलाई तत्काल निलम्बन गर्न सकिने उल्लेख छ । उपप्रमुख ठकुरीले जो व्यक्तिको घरमा चोरी भयो त्यही व्यक्तिबाट किटानी जारी भए मात्रै अनुसन्धानको प्रक्रिया अघि बढ्ने भएकाले सोही अनुरुप किटानी जाहेरी दिनुपर्ने बताइन् ।

अस्पतालमा चोरी भएको विषयमा महानगरका काँग्रेसबाट निर्वाचित जनप्रतिधिहरु आन्दोलनमा छन् । उनीहरुले महानगरको सबै बैठक बहिष्कार गर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>