Breaking News
‘भारतीय चेलीको दादागिरी’को विषयलाई लिएर संसद्मा हंगामा

काठमाडौं, जेठ २३-
संसद्मा भारतीय चेलीहरूको दादागिरी बढेको भन्ने नेकपा सांसद गंगा चौधरी सत्गौवाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै मधेसकेन्द्रित दलका सांसदहरूले संसद्मा विरोध जनाएका छन् ।
सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै कारबाहीको माग गरेकी छन् ।
शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले त्यो अभिव्यक्ति आफूमाथि नभई संसदीय मर्यादामाथि कै आक्रमण भएको बताइन् । उनले भनेकी छन्, ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ । र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस् ।’
उनले यो विषय संसद्को रेकर्डमा कायम रहे विभाजनको दरार उत्पन्न हुने जिकिर गरिन् ।
सांसद गंगा चौधरीको नाम नलिई उनले १९ जेठको त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरिन् । संसदमा जासुसको आरोप लगाउँछ, दादागिरीको कुरा गरिन्छ भने यो कुनै व्यक्तिमाथि मात्र होइन, संसदमाथि कै आक्रमण हो, उनले भनिन् ।
चौधरीले भारतीय चेलीले नेपालको संसदमा आएर दादागिरी गरेको र पदको मर्यादा नभएको भए भौतिक रुपमा अक्रमण गर्न सक्ने बताएको उनले बताइन् ।
आफूले भारत र चीनसँग वार्ता गर्न आग्रह गरेपछि मिडियाले भारतसँग नसोधी नक्सा प्रकाशित गरेको भनेर तोडमोड गरेको आरोप उनले लगाइन् ।
सांसद गिरीले आफूलाई भारतीय दलाल भनेकोमा आपत्ति मात्र जनाइनन्, सांसद चौधरीमाथि पनि प्रश्न उठाइन् ।
चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको र गाउँलेले समात्दा यो भारु त चीनको तर्फबाट बाँडेको भनेको दाबी गर्दै उनले भनिन्, ‘कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो ? कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?’
यसअघि गत १८ गते बसेको बैठकमा नेकपा सांसद सत्गौवाले नेपालको संसद्मा भारतीय चेलीहरूको दादागिरी बढेको आरोप लगाएकी थिइन् ।
























