Breaking News
चितवन भित्रिएका ७ सय जना क्वारेन्टिनमा,पिसिआर परीक्षण हुँदै

चितवन,जेठ २१-
पछिल्लो समय चितवन भित्रिएका सात सय जनालाई क्वारेन्टिनमा राखिएको छ । भारत र बढि संक्रमित जिल्लाबाट भित्रिएकाहरुलाई क्वारेन्टिनमा राखिएको हो । चितवनका सात वटै पालिकाले वडा–वडामा क्वारेन्टिन निर्माण गरेर उनिहरुको बस्ने र खाने व्यवस्था गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले क्वारेन्टिनको अवधि पुरा गरेकाहरुको कोरोना (पिसिआर) परीक्षण सुरु गरिएको जानकारी दिनुभयो । माडी नगरपालिकाको क्वारेन्टिनमा अवधि पुरा गरेकाहरुको ४४ जनाको पिसिआर परीक्षण गरिएको छ,उहाँले भन्नुभयो, उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्रमशः अन्य पालिकामा क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गरीने भट्टराइले जानकारी दिनुभयो ।
चितवन भित्रने सिमानाकामा कडाइका साथ चेकजाँच गरेर भारत र बढि संक्रमित भेटिका जिल्लाबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था गरेका छौं जसका कारण अहिलेसम्म संक्रमण समाजमा फैलन पाएको छैन्,उहाँले भन्नुभयो ।
प्रजिअ भट्टराइले नारायणगढको पुल्चोक,लोथर,मुग्लिन,मौवाखोला र ठोरी नाकामा कडाइ गरिएको जानकारी दिनुभयो । चितवनका सातै स्थानिय तहले आफ्नो पालिकाका नागरिकका लागि क्वारेन्टिनको व्यवस्था गरेका छन् । कतिपय वडाले आफै बसको व्यवस्था गरेर सिमा नाकाबाट उद्धार गरी ल्याएर क्वारेन्टिनमा राखेका छन् ।
चितवनमा मंगलबारसम्म करिब २ हजार जनाको पिसिआर परीक्षण गरिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँले क्वारेन्टिनमा बसेकाहरुको सोमबारबाट मात्र परीक्षण सुरु गरिएको बताउनुभयो ।
बजारमा चहलपहल
चितवनका बजार क्षेत्रमा पछिल्ला दिनहरुमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । लकडाउन बढ्दै गएपछि विभिन्न समस्यामा पर्दै गएपछि मानिसहरुको चहलपहल बढ्दो छ । नारायणगढको दृश्य देख्दा लकडाउन खुलेजस्तै अनुभूति गर्न सकिन्छ ।
शहीदचोकको फूटपाथमा व्यापार समेत सुरु भएको छ भने बैंकहरुमा निकै भीडभाड लागेको छ । लकडाउन भए पनि दैनिकी चलाउन नै समस्या देखिएकाले बजारमा निस्कनु परेको उनीहरुको भनाई छ । नारायणगढमा फूटपाथ व्यवसायी गरिरहेकी रेनुका देवीले भन्नुभयो,‘लकडाउनले परिवार पाल्नै गाह्रो भइसक्यो, विकल्प नभएर फूटपाथमा व्यवसाय गर्न निस्किए ।’ उहाँजस्तै अहिले धेरै महिला र पुरुषहरु बजारमा व्यापार गर्दै निस्कन थालेका छन् । फलफूलका ठेलादेखि स–साना व्यवसाय खुल्न थालेका छन् ।
मंगलबार राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकहरुमा ग्राहकहरुको भीड लागेको थियो । सामाजिक दुरी समेत कायम नगरी भिडभाड गरेपछि बैंकका प्रमुखहरुलाई कडाइका साथ दुरी कायम गर्न निर्देशन दिइएको प्रजिअ भट्टराइले बताउनुभयो । ‘लकडान खुकुलो भयो भनेर केहीले प्रचार गरेका छन्, उहाँले भन्नुभयो, सबै प्रहरीबाट मात्रै सम्भव हुन्न नागरिक पनि आफै सचेत बन्नुपर्छ ।’ उहाँले सरकारको निर्णय अनुसार नै लकडाउनलाई निरन्तरता दिँदै आएको र सरकारको निर्णय अनुसार नै परिवर्तन हुने बताउनुभयो । विगतमा चितवनका सबै सरोकारवाला र आम नागरिकको सहयोगले सफलता प्राप्त गरेको उहाँको भनाई छ ।
‘अहिले हाम्रो ध्यान भारत र अन्य जिल्लाबाट आएकाहरुलाई समाजमा घुलमिल हुन नदिने तर्फ केन्द्रित छ,उहाँले भन्नुभयो,क्वारेन्टिनको व्यवस्थापन जोड दिएका छौं ।’ क्वारेन्टिनमा रहेकाहरुको कोरोना परिक्षण पश्चात संक्रमितको संङख्या बढ्न सक्ने भएकाले झन सजग बन्नुपर्ने भट्टराइले बताउनुभयो ।
























