Breaking News
गगन थापा भन्छन् – चौरजहारी घटना टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ

काठमाडौं, जेठ १९-
नेपाली कांग्रेसका सांसद गगन थापाले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ मा भएको घटनाबारे छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति गठनको माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोलेका सांसद थापाले दलितका हकअधिकार र कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले अनुहारमा कालो पोतिएको बताए ।
‘दलितका हक लेख्यौं, कानुन बनायौं भनेर गर्व गरिरहँदा रूकुमको नरसंहारले यस्तो गर्व गरिरहेको हामी सबैको अनुहारमा कालो पोतिएको छ,’ सांसद थापाले भने ।
उक्त घटनामा राज्यको लाचारीलाई संसदले टुलुटुलु हेरेर बस्न नसकिने उनले बताए।
‘यस्तो अमानवीय र त्रुर घटनालाई भवित्वय हो भनेर देखाउन र सहायक कारण देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको संगठित पयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्ने हो भने लाज पनि हामीसँग लजाउँछ,’ थापाले भने ।
उनले अविलम्ब सर्वदलीय संसदीय छानविन समिति गठन गर्न माग गरे ।
‘अविलम्ब सर्वदलीय संसदीय छानविन समिति गठन गर्नुपर्छ। यो नबनाएसम्म हामी मागिरहनेछौं । न्यायका पक्षमा बोलिरहेनेछौं । लडिरहनेछौं,’ थापाले भने ।
























