Breaking News
बाँके दुर्घटनाका मृतक र घाइते सबैको स्वाब संकलन

काठमाडौं, जेठ १९-
बाँकेमा भएको गाडी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । उपचारको क्रममा सोमबार बिहान थप एकजनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
मृत्यु भएका १२ जनासहित २१ जना घाइते सबैको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतलाका मेडिकल सुपरीडेन्ट डा. प्रकाश थापाले मृतक ११ पुरुष, एक महिला गरि १२ जना र २१ जना घाइते सबैको कोरोना भाइरस परीक्षणको गर्न स्वाब संकलन गरिएको जानकारी दिए ।
‘अस्पतालले दुर्घटनामा मृत्यु भएका सबै र घाइते सबैको स्वाब संकलन गरेर सकिसकेको छ,’ थापाले भने, ‘उनीहरुको रिपोर्टका आधारमा उद्धारमा खटिएका सुरक्षाकर्मीको पनि स्वाब संकलन हुनेछ ।’ उनले सबैको पिसिआर विधिवाट चेकजाँच हुने जानकारी दिए ।
आइतबार मध्यरातमा भएको दुर्घटनामा ११ जनाको घटनास्थलमै ज्यान गएको थियो ।
ना ५ ख ५९९५ नम्बरको हाइस गाडीमा ३३ जना सल्यानतर्फ जाँदै थिए ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा आइतबार राति सवा १२ बजे हाइस दुर्घटनामा परेको हो ।
























