Breaking News
भरतपुरमा पहिलोपटक साइकल लेन सहितको सडक बन्ने

चितवन,जेठ १७-
चितवनको भरतपुर महानगरपालिकामा पहिलो पटक साइकल लेन सहितको सडक निर्माण हुने भएको छ । भरतपुर महानगरपालिका ७ मा निर्माण हुन लागेको सडकको प्रमुख रेनु दाहालले शिलान्यास गर्नुभयो । भरतपुर ७ गौरिगन्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म सडक निर्माण गर्न लागिएको हो ।
१३ सय मिटर लामो सडक लागत अनुमान ९ करोड गरिएको छ । प्रारम्भिक चरणमा ३ करोड ६५ लाख रुपैंया बजेट विनियोजन भएको छ । केन्द्र सरकारबाट विनियोजन भएको बजेट भरतपुर महानगरपालिका मार्फत काम हुन लागेको हो । सडकमा फुटपाथ,ड्रेन,साइकल ट्रयाक हुनेछ । भरतपुर महानगरपालिकामा पहिलोपटक साइलक लेन सहितको स्मार्ट सडक निर्माण गर्न लागिएको वडा नं. ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले तोकिएकै समयमा सडक निर्माण सम्पन्न गर्न वडाको तर्फबाट निरन्तर अनुगमन गरिने बताउनुभयो ।

एक बर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सुनकोसी मंगलदिप जेभीले निर्माणको जिम्मा लिएको छ । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख दाहालले सडक निर्माण समयमै पुरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भरतपुर महानगरपालिकाका अधिकांस सडक कालोपत्रे भएको र बाँकी पनि छिट्टै हुने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले महानगरपालिका भित्रका योजनाहरु सिटीहल, भरतपुर विमानस्थल, आँपटारी देवघाट सडक र भूमिगत विद्युत र भरतपुर अस्पताललाई बजेट मार्फत सम्बोधन भएको जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष गंगा चापागाँई लगाएतको सहभागिता रहेको थियो ।

























