Breaking News

चितवनका किसानले विक्री नभएको तरकारीको मल बनाउन रोके,बिक्री वितरणको व्यवस्था हुने

Banner

कारी महतो

चितवन, जेठ १३–

पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. १ मा उत्पादन भएको तरकारी उपभोक्ता अधिकार मञ्च चितवनले बिक्री वितरणको व्यवस्था मिलाईदिने भएको छ । तरकारी बिक्री नभएपछि कृषकले कम्पोष्ट मल बनाउन थालेको समाचार नारायणी अनलाईनमा प्रकाशन भएपछि उपभोक्ता अधिकार मञ्चले उत्पादित तरकारी खेर नफाल्न कृषकहरुलाई अनुरोध गरेका छन् । उपभोक्ता अधिकार मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष लेखनाथ पौडेलले भने– “कृपया तरकारी कुहाएर खेर नफालीदिनुस् ।”

कृषकले बिक्री गर्न नसकेको तरकारीको न्यूनतम लागत मूल्य तिरेर मञ्चले उपभोक्ताहरुलाई वितरण गर्ने वरिष्ठ उपाध्यक्ष पौडेलले बताएका छन् । “सकेसम्म बेच्ने व्यवस्था मिलाइदिनेछौं, बिक्री नभए हामी आफैंले किनेर उपभोक्ताहरुलाई निःशुल्क बाँड्नेछौं” उपाध्यक्ष पौडेलले फोन गरेर बताए । यसका लागि मञ्चले सम्बन्धित कृषकलाई फोन सम्पर्क गरी सकेको र आजैदेखि वितरण अभियान शुरु गर्ने बताएका छन् ।

तरकारी बिक्री नभएपछि कृषकको खेतबारीमा काम गर्ने मजदुरहरुलाई दैनिक गुजारा चलाउन धौ धौ परेको छ । डेरामा बसेर कृषि मजदुरी गर्नेहरुलाई समेत राहतको व्यवस्था मिलाउने मञ्चका वरिष्ठ उपाध्यक्षले बताएका छन् ।

तरकारी संकलन केन्द्रमा बिक्री नभएर बोरामै आधा बिग्रिसकेको भिन्डीबाट कृषक लक्ष्मण चौधरीले कम्पोष्ट मल बनाउन थालेका हुन् । उपभोक्ता अधिकार मञ्च चितवनको प्रस्ताव बमोजिम न्यूनतम लागत मूल्यमै आफ्ना खेतको भिन्डी मञ्चलाई उपलब्ध गराउन कृषक चौधरी राजी भएका छन् । उनले एक बिघामा भिन्डी लगाएका छन् । त्यसमा एक दिन बिराएर लगभग ६ क्वीन्टल उत्पादन हुन्छ ।

यस क्षेत्रमा करीब ४० बिघामा भिन्डी र ९० देखि १०० बिघामा अन्य तरकारी खेती गरिएको ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुसालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>