Breaking News

चितवनको केशरबागमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, जेठ १०–

चितवनमा आज (शनिबार) थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नं.६ केशरबागका ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले जानकारी दिए ।

ती संक्रमित पुरुष हिजो (शुक्रबार) पुष्टि भएका ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलाका जेठो छोरा हुन् । तीनै जना जेठ ३ गते भारतको दिल्लीस्थित राजीव गान्धी हस्पिटलबाट फर्किएका थिए । पहिलोपटक परीक्षण गर्दा श्रीमान् र श्रीमतीमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसक्रममा छोरामा संक्रमण देखिएको थिएन । तर शुक्रबार पुनः स्वाबको परीक्षण गर्दा आज (शनिबार) छोरामा पनि कोरोना पोजिटिभ देखिएको अस्पतालका अध्यक्ष डा.अधिकारीले बताए ।

उनले नारायणी अनलाइनसंग भने–‘पहिलोचरणमा छोरामा संक्रमण नदेखिए पनि हामीलाई शंकास्पद लागेरै अस्पतालकै आइसोलेसनमा राखेका थियौं, पुनः परीक्षण गर्दा पोजिटिभ देखियो ।’ नयाँ संक्रमि पुरुष हिजो पुष्टि भएका संक्रमितहरुसंगै अस्पताल ल्याएर राखिएको थियो । योसंगै चितवनमा संक्रमितको संख्या ६ पुगेको छ ।

७४ वर्षीय पुरुषको क्यान्सरको उपचारका लागि उनीहरु तीनजना नै दिल्ली पुगेका थिए । उनीहरु तेस्रो चरणको केमो चढाएर जेठ ३ गते कपिलवस्तुको कृष्णनगर नाकाबाट एम्बुलेन्समा चितवन आएका थिए । दिल्लीबाट नाकासम्म भारतीय एम्बुलेन्स र कपिलवस्तुबाट सोही ठाउँको एम्बुलेन्सबाट उनीहरु चितवन आएका थिए । शुक्रबार संक्रमण पुष्टि भएसंगै केशरबाग क्षेत्रमा प्रशासनले सील गरेको छ । त्यहाँ शुक्रबारदेखि नै हिडडुलमा रोक लगाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>