Breaking News
गुल्मीका कोरोना संक्रमितको शव उठेन, डाक्टरहरूले उपचार नै नगरेको आफन्तको आरोप

बुटवल, जेठ ९-
बुटवलको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको शव व्यवस्थापन हुन सकेको छैन । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै शव उठाउन मानेका छैनन् ।
जेठ १ गते अस्पतालमा भर्ना गरिएका मृतकलाई भेन्टिलेटरमा उपचार गरिएको अस्पतालले जनाएको थियो । उपचारकै क्रममा बिहीबार बिहान सवा ७ बजे उनको मृत्यु भएको हो । आफन्तले कोरोना पोजेटिभ देखिएपछि डाक्टरहरूले उपचार नै नगरेको आरोप लगाएका छन् ।
आफन्तले घटनाका छानबिन र अस्पतालले क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताए । जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आएका उनको दुई गते स्वाब संकलन गरिएको थियो । जेठ ५ गतेमात्रै उनमा कोरोना पोजेटिभ देखिएको हो । भैरहवास्थित प्रयोगशालामा स्वाब परीक्षण भएको थियो ।
तीन दिनसम्म भेन्टिलेटरमा रहे पनि स्वास्थ्यमा सुधार नआएको अस्पतालका चिकित्सकहरूले बताएका छन् ।
मृतक पुरुष शिक्षक हुन् । गुल्मी मदाने–६ का उनमा कोरोना कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन । जण्डिस, रुघा र ज्वरो आएपछि उनी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पुगेका थिए ।
त्यहा निको नभएपछि उनी मोटरसाइकलमा अर्घाखाँचीको छाया पोलिक्लिनिकमा आएका थिए। त्यसपछि मात्रै उनी एम्बुलेन्समा बुटवल आएका थिए । अस्पतालको आईसियुमा रहेका उनलाई कृतिम श्वासप्रश्वास गराइएको थियो ।
























